सिरहा नगरपालिका–१४ बाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ ।
मंगलबार राति प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरी टोलीले माडरबाट सिराहातर्फ आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकललाई जाँच गर्ने क्रममा सिन्धुलीको फिकल गाउँपालिका–६ निवासी २८ वर्षीय खेमबहादुर कार्कीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार मोटरसाइकल चालक भने प्रहरीलाई देख्नासाथ फरार भएका थिए। पक्राउ परेका कार्कीको शरीर खानतलासी गर्दा १४ ग्राम ३ सय ४० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले फरार मोटरसाइकल चालक तथा मोटरसाइकलको खोजी जारी रहेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।