रौतहटको गरुडा नगरपालिका–७ पिपरिया दोस्तिया गाउँमा एक अत्यन्तै दुर्लभ र अनौठो घटना सार्वजनिक भएको छ ।
स्थानीय श्रीनारायण यादवको भैंसीले बुधबार दुईवटा टाउको र दुईवटा मुख भएको पाडो जन्माएको स्थानीय समाजसेवी चन्देश्वर यादवले जानकारी दिएका छन् ।
असामान्य स्वरूपको पाडो जन्मिएपछि गाउँभरि कौतुहलता र आश्चर्य फैलिएको छ । घटना सार्वजनिक हुनासाथ पाडोलाई हेर्न स्थानीयवासीहरूको ठूलो भीड लागेको छ । धेरैले यसलाई “प्रकृतिको दुर्लभ चमत्कार” का रूपमा व्याख्या गरिरहेका छन् भने कतिपयले यस्तो अवस्थाबारे जिज्ञासा व्यक्त गरेका छन् ।
जिल्ला पशु सेवा कार्यालयका चिकित्सकहरूका अनुसार यस्ता जन्मजात विकृति अत्यन्तै दुर्लभ हुने गर्छन् । प्रारम्भिक रूपमा गर्भावस्थामा भ्रूण विभाजन असामान्य हुनु, आनुवंशिक गडबडी वा विकासक्रममा आएको अवरोधका कारण यस्तो अवस्था देखिन सक्ने उनीहरूको भनाइ छ । यद्यपि, यकिन कारण पत्ता लगाउन विस्तृत परीक्षण आवश्यक पर्ने बताइएको छ ।
चिकित्सकीय दृष्टिले यस्ता अवस्थामा अधिकांश नवजात पशुको बाँच्ने सम्भावना कमजोर हुने भए पनि हाल पाडोको स्वास्थ्य अवस्था सामान्य रहेको स्थानीय शिक्षक सुरेन्द्र ठाकुरले जानकारी दिए । उनका अनुसार झण्डै २४ घण्टाअघि जन्मिएको उक्त पाडोको दुई छुट्टाछुट्टै टाउको, मुख र आँखा रहेको छ ।
यसैबीच, गाउँमा उक्त घटनालाई लिएर विभिन्न चर्चा–परिचर्चा चलिरहेको छ । केहीले यसलाई दुर्लभ जैविक घटना मानेका छन् भने केहीले धार्मिक तथा लोकविश्वाससँग जोडेर हेर्न थालेका छन् ।