मनरा सिसवा नगरपालिका ले एक महिनाभित्र पालिकालाई साक्षर घोषणा गर्ने लक्ष्यसहित विशेष साक्षरता अभियान सञ्चालन गरेको छ ।
नगरपालिकाले चालु आर्थिक वर्षभित्र पालिकालाई साक्षर घोषणा गर्ने उद्देश्यका साथ जेठ १५ गतेदेखि असार १५ गतेसम्म अभियान सञ्चालन गरिएको जनाएको छ । नगर प्रमुख मोहन पाण्डेय का अनुसार १५ देखि ६० वर्ष उमेर समूहका निरक्षर नागरिकलाई लक्षित गरी अभियान अघि बढाइएको हो । अभियानलाई प्रभावकारी बनाउन स्थानीय सामुदायिक विद्यालयका शिक्षकहरू परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।
विद्यालय समय सकिएपछि शिक्षकहरू सम्बन्धित टोलमा पुगेर निरक्षर नागरिकलाई पढाउने कार्यमा सक्रिय रहेका छन् । साक्षरतालाई स्थानीय विकास र नागरिक सशक्तीकरणको आधारका रूपमा लिँदै अभियानलाई प्राथमिकताका साथ सञ्चालन गरिएको नगरपालिकाको भनाइ छ ।
नगरपालिकाका १० वटै वडाका २३ टोललाई अभियानमा समेटिएको छ । नगर प्रमुख पाण्डेयका अनुसार पालिकाभित्र रहेका २३ सामुदायिक विद्यालयलाई आफ्नो सेवा क्षेत्रका टोललाई साक्षर बनाउने जिम्मेवारी दिइएको छ । शिक्षकहरूले अतिरिक्त समय दिएर अभियानमा सहभागिता जनाइरहेका छन् भने नगरपालिकाले आवश्यक सहयोगको व्यवस्था गरेको जनाएको छ । “शिक्षा सबैको अधिकार, साक्षरता हाम्रो आधार” तथा “साक्षर नागरिक, समृद्ध नगरपालिका” भन्ने मूल नारासहित सञ्चालन गरिएको अभियान असार मसान्तभित्र सम्पन्न गरी पालिकालाई साक्षर घोषणा गर्ने लक्ष्य राखिएको छ ।
नगरपालिकाका अनुसार साक्षर घोषणा हुनका लागि तोकिएका १२ सूचकमध्ये कम्तीमा ६ सूचक पूरा गर्नुपर्ने र लक्षित जनसङ्ख्याको ९५ प्रतिशत नागरिक साक्षर हुनुपर्ने व्यवस्था छ । यद्यपि यस अभियानमार्फत सबै १२ सूचक पूरा गर्ने लक्ष्य राखिएको जनाइएको छ । अभियानको प्रभावकारिता सुनिश्चित गर्न सेभ द चिल्ड्रेन तथा रतौली युवा क्लब लाई समेत अनुगमनमा सहभागी गराइएको छ । दुवै संस्थाले नगरपालिकासँग सहकार्य गर्दै नियमित अनुगमन गरिरहेका छन् ।
मनरा सिसवा नगरपालिकाले विगत दुई आर्थिक वर्षदेखि साक्षरता अभियान सञ्चालन गर्दै आए पनि अपेक्षित उपलब्धि हासिल हुन सकेको थिएन । यस वर्ष भने विद्यालयलाई नै अभियानको मुख्य जिम्मेवारी दिएकाले सकारात्मक परिणाम आउने अपेक्षा गरिएको छ । नगरपालिकाको पछिल्लो तथ्याङ्कअनुसार १५ देखि ६० वर्ष उमेर समूहका नागरिकको सङ्ख्या ४२ हजार ५७१ रहेको छ । तीमध्ये २१ हजार ६२६ महिला र २० हजार ९४५ पुरुष रहेका छन् । हालसम्म ४ हजार ३० महिला र २ हजार ४३९ पुरुष निरक्षर रहेको तथ्याङ्कले देखाएको छ ।
नगरपालिकामा ८ हजार २३५ घरधुरीमा करिब ५४ हजार जनसङ्ख्याको बसोबास रहेको छ । महोत्तरीका १५ स्थानीय तहमध्ये जलेश्वर नगरपालिका र मटिहानी नगरपालिका साक्षर स्थानीय तह घोषणा भइसकेका छन् ।
अन्य स्थानीय तहहरू पनि साक्षर घोषणा गर्ने तयारीमा रहेका छन् ।