‘पुल बन्ला र जनजीवन सहज होला’ भन्ने आशामा एक दशकदेखि प्रतीक्षामा रहेका चन्द्रपुर नगरपालिका–३ का चुरे क्षेत्रका बासिन्दा अझै पनि जोखिम मोलेर चाँदी नदी तर्न बाध्य छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत चन्द्रनिगाहपुर बजार क्षेत्र र गैडाटार जोड्ने चाँदी नदीमाथिको निर्माणाधीन पुल लामो समयदेखि अलपत्र अवस्थामा छ ।
२०७३ साल असार ३१ गते शिवशंकर जेभी कन्स्ट्रक्सनले २५ करोड ३६ लाखभन्दा बढी लागतमा उक्त पुल निर्माणको ठेक्का लिएको थियो । ४६९.५० मिटर लम्बाइको पुलको शिलान्यास २०७३ साल पुस २५ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले गर्नुभएको थियो ।
सम्झौताअनुसार २०७६ असार मसान्तभित्र निर्माण सम्पन्न हुनुपर्ने पुल हालसम्म पूरा हुन सकेको छैन । चन्द्रपुर नगरपालिका–३ का वडाध्यक्ष बोधनाथ देवकोटाका अनुसार निर्माण कम्पनीको ढिलासुस्ती र लापरबाहीका कारण पुल अलपत्र परेको हो ।
सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका अनुसार पुलको भौतिक प्रगति करिब ८० प्रतिशत पुगेको छ । ११ मध्ये अझै तीन वटा स्पानको ढलान, पहुँच सडक, बाँध तथा रेलिङलगायतका काम बाँकी छन् । हालसम्म निर्माण कम्पनीलाई चार पटक म्याद थप गरिएको छ भने अन्तिम म्याद २०८२ जेठ ३० गतेसम्म कायम रहेको छ ।
पुल नबन्दा वर्षायाममा चाँदी नदीमा आउने बाढीका कारण स्थानीयको जनजीवन निकै प्रभावित हुँदै आएको छ । दैनिक उपभोग्य सामग्री ढुवानीदेखि बिरामीलाई अस्पताल पुर्याउन समेत समस्या हुने गरेको स्थानीयवासीले बताएका छन् ।
स्थानीय युवा सन्तोष चौहानका अनुसार पुल नबन्दा बाढीका बेला आवतजावत ठप्प हुने, कृषि उत्पादन बजारसम्म पुर्याउन कठिन हुने र मानवीय जोखिम समेत बढ्ने गरेको छ । स्थानीयले जनप्रतिनिधि, मन्त्री तथा सम्बन्धित निकायलाई पटक–पटक ध्यानाकर्षण गराए पनि निर्माण कार्यले गति लिन नसकेको उनीहरूको गुनासो छ ।