सुनसरीको दुहबी नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री तथा कम्बाइन मिल वितरण गरेको छ ।
नगरपालिकाले कृषि यान्त्रिकीकरण र प्राङ्गारिक खेती प्रवर्द्धन गर्ने उद्देश्यले दुई वटा कम्बाइन मिल, तीन वटा २० एचपी क्षमताका पावर टेलर, साथै विभिन्न कृषि उपकरण तथा सामग्री वितरण गरेको हो । कम्बाइन मिलले धान, गहुँ, मकै तथा मसला बालीको कुटानी–पिसानी कार्यमा सहयोग पुग्ने बताइएको छ ।
दुहबी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारले उन्नत कृषि सहकारी संस्था दुहबी–१० को आयोजनामा भएको कार्यक्रममा कृषकलाई उपकरण हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममार्फत पावर टेलर, सिमार्सियल पम्प, स्प्रे मेसिन, डेलिभरी पाइप, प्राङ्गारिक मल, रैथाने धानको बीउ, बोरिङ तथा त्रिपालसमेत वितरण गरिएको छ ।
नगर प्रमुख गच्छदारले किसान नगरपालिकाको प्राथमिकतामा रहेको बताउँदै कृषकको हितका लागि निरन्तर सहयोग भइरहेको जानकारी दिनुभयो । उहाँले विषादीरहित खेती प्रवर्द्धन र कृषि उत्पादन बढाउने लक्ष्य रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा करिब १६ लाख रुपैयाँ बराबरको कृषि सामग्री वितरण गरिएको जनाइएको छ । साथै प्रदेश सरकारसँगको सहकार्यमा ५६ करोड रुपैयाँ लागतमा एग्रो–प्रोसेसिङ उद्योग स्थापना गर्ने योजना रहेको पनि जानकारी दिइएको छ ।
कार्यक्रममा सहभागी कृषकहरूले यस्ता कार्यक्रमले कृषि उत्पादन वृद्धि, यान्त्रिकीकरण र प्राङ्गारिक खेती प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।