राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संघीय सांसदहरूले अब पार्टीको केन्द्रीय तहबाहेक अन्य कुनै पनि तहको संगठनात्मक निर्वाचनमा उम्मेदवारी दिन नपाउने भएका छन् ।
निर्वाचन आयोगबाट प्राप्त पछिल्लो जानकारी तथा पार्टीको साङ्गठनिक नीतिअनुसार संघीय सांसदहरूलाई पालिका, क्षेत्र, जिल्ला तथा प्रदेश तहका समितिहरूमा उम्मेदवार बन्न रोक लगाइएको हो । पार्टीभित्र कार्यविभाजनलाई प्रभावकारी बनाउने, आन्तरिक लोकतन्त्रलाई सुदृढ गर्ने तथा नेतृत्व विकासका अवसरलाई तल्लो तहसम्म विस्तार गर्ने उद्देश्यले यस्तो व्यवस्था लागू गरिएको पार्टी स्रोतले जनाएको छ ।
नयाँ व्यवस्थाअनुसार संघीय सांसदहरूले अब पालिका, क्षेत्र, जिल्ला वा प्रदेश तहका कार्यकारी पदमा प्रतिस्पर्धा गर्न पाउने छैनन् । उनीहरूले केवल पार्टीको केन्द्रीय तहको नेतृत्वका लागि मात्र उम्मेदवारी दिन सक्नेछन् ।
यसैबीच, रास्वपाले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको मिति र स्थानसमेत तय गरेको छ । पार्टीको पहिलो ऐतिहासिक महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना हुने भएको छ । रास्वपाले महाधिवेशनलाई संगठन विस्तार, नीति निर्माण तथा नयाँ नेतृत्व चयनको महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ ।
पार्टीका नेता तथा कार्यकर्ताहरू महाधिवेशनको तयारीमा जुटिसकेका छन् ।