सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रदेश र स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट तथा स्थानीय वाचा निर्माणको गृहकार्य सुरु गरेको छ । पार्टीले बलियो जनमत हासिल गर्ने रणनीतिअनुसार संगठन विस्तार र तयारीलाई तीव्र बनाएको हो ।
स्थानीय तहको निर्वाचन २०८४ वैशाख अन्तिम सातामा हुने र त्यसपछि प्रदेश निर्वाचन हुने तयारी भइरहेका बेला रास्वपाले पहिलो पटक यी तहमा सशक्त उपस्थिति जनाउने लक्ष्य लिएको छ । २०७९ को निर्वाचनमा सहभागी नभएकाले पार्टीका प्रदेश र स्थानीय तहमा कुनै जनप्रतिनिधि छैनन् । यही कारण राष्ट्रिय सभामा पनि रास्वपाको प्रतिनिधित्व छैन ।
पार्टीले १० वैशाखमा सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ‘स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा तथा क्यान्डिडेट छनोट समिति’ गठन गरी प्रक्रिया अघि बढाएको छ । प्रवक्ता मनीष झाले उम्मेदवार आकांक्षीको संख्या धेरै भएकाले विधि र प्रक्रियामार्फत छनोट गरिने जानकारी दिएका छन् । रास्वपाले आगामी राष्ट्रिय महाधिवेशनपछि देशव्यापी रूपमा स्थानीय निर्वाचन तयारीलाई तीव्र बनाउने जनाएको छ । ७, ८ र ९ असारमा हुने महाधिवेशनअघि पार्टी संगठन विस्तार र वडा तहसम्मको अधिवेशनमा केन्द्रित रहेको छ ।
पार्टीले सबै पालिका तथा वडामा युवा उम्मेदवारलाई प्राथमिकता दिने नीति लिएको छ । ७५३ स्थानीय तहमा युवा उम्मेदवार खडा गर्ने तयारी भइरहेको छ । यसअघि प्रतिनिधिसभा निर्वाचनमा पनि ४० वर्षमुनिका ४० प्रतिशत युवा उम्मेदवार उठाइएको थियो ।
यसैबीच, अन्य प्रमुख दलहरू पनि आगामी निर्वाचन केन्द्रित संगठन पुनर्गठन, प्रशिक्षण र अभियानमा जुटेका छन् । नेपाली कांग्रेसले सदस्यता नवीकरण र जनप्रतिनिधिसँग अन्तर्क्रिया गर्दै तयारी अघि बढाएको छ भने नेकपा एमालेले ‘मिसन पार्टी जागरण’ अभियान सञ्चालन गरिरहेको छ ।
त्यसैगरी, माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै आगामी निर्वाचनका लागि तयारी थालेको छ । अन्य दलहरू जस्तै श्रम संस्कृति पार्टी, जसपा नेपाल, जनमत पार्टी र राप्रपाले पनि आ–आफ्नो संगठन विस्तार तथा निर्वाचन रणनीति बनाइरहेका छन् ।