काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशका विभिन्न प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको जनाएको छ ।
महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हाल वर्षा भइरहेको छ । मौसम प्रणालीमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
त्यसैगरी आइतबार र सोमबार कोशी प्रदेशसहित हिमाली भूभागमा सामान्य बदली रहने, मधेस प्रदेशलगायत पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।
महाशाखाका अनुसार भोलि र पर्सी मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा केही स्थानमा तापक्रम बढ्ने र गर्मी बढ्ने सम्भावना छ ।
यस्तै, कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।