काठमाडौँ । नेपालमा मनसुन भित्रिन अझै करिब एक साता लाग्ने भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार हाल मनसुन दक्षिण भारतको केरला र तमिलनाडु क्षेत्रमा पुगेको छ । बङ्गालको खाडी हुँदै नेपालतर्फ अघि बढ्न अझै केही समय लाग्ने भएकाले मनसुन भित्रिन करिब एक हप्ता लाग्ने अनुमान गरिएको छ ।
मौसमविद् पौडेलले मनसुनको आगमन निश्चित मितिमा भन्न नसकिने उल्लेख गर्दै प्रणालीको सक्रियताका आधारमा समय केही अघि वा पछि पनि हुन सक्ने बताए । उनका अनुसार सामान्यतया केरलामा मनसुन पुगेको एक हप्ताभित्र नेपालमा प्रवेश गर्ने परम्परा भए पनि यस वर्ष केही ढिलाइ हुन सक्ने देखिएको छ ।
नेपालमा मनसुनको औसत प्रवेश मिति जुन १३ भए पनि भारतमा समेत यस वर्ष मनसुन ढिला सक्रिय भएकाले नेपालमा पनि निर्धारित समयभन्दा केही ढिलो भित्रिने अनुमान गरिएको छ ।
यस वर्ष मनसुन अवधिमा औसतभन्दा कम वर्षा हुने र गर्मी बढी हुने सम्भावना रहेको मौसमविद्हरूले आकलन गरेका छन् । केही क्षेत्रमा अतिवृष्टि तथा अनावृष्टिको सम्भावना पनि रहेको जनाइएको छ ।
यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार यस वर्ष मनसुनबाट करिब ५१ हजार परिवारका दुई लाख २६ हजार नागरिक प्रभावित हुन सक्ने अनुमान गरिएको छ । सोहीअनुसार राष्ट्रिय प्रतिकार्य योजना तयार गरी कार्यान्वयनमा ल्याइएको उनले जानकारी दिएकी छन् ।