काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस जयशंकरबीच भेटवार्ता भएको छ । दुई देशका प्रतिनिधिमण्डलबीच हाल नयाँ दिल्लीमा छलफल जारी रहेको जनाइएको छ ।
भारतीय विदेशमन्त्री जयशंकरले उक्त भेटवार्ताबारे जानकारी दिँदै सामाजिक सञ्जालमार्फत नेपाली प्रतिनिधिमण्डललाई स्वागत गर्दै प्रारम्भिक छलफलका केही झलकहरू पनि सार्वजनिक गरेका छन् ।
परराष्ट्रमन्त्री खनाल भारतीय विदेशमन्त्री जयशंकरको औपचारिक निमन्त्रणामा हिजो (शुक्रबार) भारत पुगेका हुन् । उनी जेठ २४ गतेसम्म भारतको औपचारिक भ्रमणमा रहने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा नेपाल–भारतबीचको आपसी हितका विविध विषयमा छलफल हुने जनाइएको छ । विशेषगरी व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा क्षेत्र तथा जनस्तरको सम्बन्धलाई अझ सुदृढ र विस्तार गर्ने विषयमा केन्द्रित रहेर वार्ता हुने बताइएको छ ।