भारतको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच शनिबार नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ ।
भारतीय विदेशमन्त्री जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा नयाँ दिल्ली पुगेका मन्त्री खनाल र उनीबीच दुई देशका आपसी हित तथा सहयोगका विविध पक्षमा केन्द्रित रहेर गहन छलफल भएको हो । नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार बैठकमा व्यापार तथा आर्थिक सहयोग, सीमापार सम्पर्क (कनेक्टिभिटी), ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा खेलकुदमार्फत जनस्तरको सम्बन्ध प्रवर्द्धनलगायत विषयमा विस्तृत समीक्षा गरिएको थियो ।
दुवै मन्त्रीले नेपाल–भारतबीचको ऐतिहासिक र दिगो साझेदारीलाई अझ सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बैठकको प्रमुख उपलब्धिका रूपमा दुई देशबीच तीनबुँदे संयुक्त घोषणा जारी गरिएको छ । पहिलो बुँदामा सन् २०२३ जुनमा एनसीएचएल र एनपीसीआईबीच भएको समझदारीअनुसार ‘ए२ए’ क्रस बोर्डर भुक्तानी प्रणाली औपचारिक रूपमा सञ्चालन गर्ने उल्लेख छ ।
दोस्रो बुँदाअन्तर्गत भारत सरकारको सहयोगमा नेपालमा पुनर्निर्माण गरिएका भूकम्पपछिका ७२ वटा स्वास्थ्य क्षेत्र र १२ वटा सांस्कृतिक परियोजनाहरू नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । तेस्रो बुँदामा ‘भ्वाइस फर्स्ट’ भाषा अनुवाद प्लेटफर्म विकासका लागि काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङको डिजिटल सार्वजनिक पूर्वाधार तथा एआई केन्द्र र भारतको डिजिटल भाशिनी डिभिजनबीच समझदारीपत्र आदानप्रदान गरिएको छ ।
वर्तमान सरकार गठनपछि मन्त्री खनालको यो पहिलो उच्चस्तरीय भारत भ्रमण हो । उनी आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।