पूर्वाधार विकास मन्त्री सुनिल लम्साल ले सिरहा र धनुषा जोड्ने कमला पुलको निर्माण कार्य तीव्र गतिमा अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
शनिबार पुलको स्थलगत निरीक्षण गर्दै मन्त्री लम्सालले निर्माण कम्पनी तथा सम्बन्धित प्राविधिक टोलीलाई बाँकी काम निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
आर्थिक वर्ष २०८३/०८४ को बजेटमा कमला पुल पुनर्निर्माणका लागि पर्याप्त बजेट विनियोजन नभएको भन्दै स्थानीयस्तरमा गुनासो बढ्न थालेपछि मन्त्री लम्साल स्वयं निरीक्षणमा पुग्नुभएको थियो । निरीक्षणका क्रममा उहाँले निर्माण कम्पनी लुम्बिनी विल्डर्स जेभीका ठेकेदारलाई काममा ढिलाइ नगर्न स्पष्ट निर्देशन दिनुभएको छ ।
हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गत योजना कार्यालय जनकपुरका प्रमुख कृष्णकुमार महतोका अनुसार भासिएको पुलको पूर्वतर्फको एउटा सल्याब निर्माण गर्न मात्रै बाँकी रहेको छ । उक्त काम आगामी १५ दिनभित्र सम्पन्न हुने जानकारी उहाँले मन्त्रीलाई गराउनुभएको थियो ।
मन्त्री लम्सालले पुल सञ्चालनका लागि आवश्यक पूर्व तथा पश्चिम दुवैतर्फको तटबन्ध र पहुँच सडक निर्माणको काम पनि एक महिनाभित्र सम्पन्न हुने गरी अघि बढाउन निर्देशन दिनुभयो । उहाँले बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै स्थानीयले लामो समयदेखि भोग्दै आएको सास्तीप्रति आफू गम्भीर रहेको बताउनुभयो ।