मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली किनारमा ट्रक खसेको घटना शंकास्पद देखिएको छ ।
आज बिहान भैरहवाबाट ललितपुर आउँदै गरेको ना ६ ख ६२८३ नम्बरको ट्रक सडकबाट ७० मिटर तल खसेपनि नदीमा भने पुगेको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घटनास्थलमा पुगेपछि ट्रकको दुर्घटना शंकास्पद देखिएको छ । डिएसपी भेषराज रिजालले भने, “ट्रक ठूलो गतिमा खसेको जस्तो देखिँदैन, र पानीमा पुगेको पनि छैन ।”
घटनास्थलमा ट्रकबाट भेटिएको बिलबिजक र सामानको अवस्था एक-अर्कासँग मेल नखाएको पनि उनले बताए। भैरहवास्थित सुभमालिका टेर्डिङले ललितपुरको भैरवी कर्पोरेटलाई २ हजार २ सय २५ कार्टुन सनफ्लावर तेल पठाएको बिल भए पनि ट्रकमा आधाजति मात्रै तेल भेटिएको छ ।
डिएसपी रिजालले भने, “ट्रकमा भेटिएको बिलअनुसार तेल छैन, र कतै पोखिएको पनि देखिँदैन ।” अहिलेसम्म ट्रक धनीको टुंगो नलागेकाले प्रहरीले यातायात कार्यालयमार्फत विवरण खोजी गर्न थालेको छ।
यस्तै, ट्रकका चालक र सहचालकसँग सम्पर्क हुन नसकेकाले तेल आयात गर्ने भैरवी कर्पोरेटका अधिकारीलाई चितवन बोलाएको प्रहरीले जनाएको छ ।