मकवानपुरको राप्ती नगरपालिका–स्थित त्रिखण्डी पछिल्ला केही वर्षयता आन्तरिक तथा सीमापार पर्यटकका लागि गर्मी छल्ने प्रमुख गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । विशेषगरी मधेस प्रदेशका विभिन्न जिल्ला तथा छिमेकी भारतका बिहार र उत्तर प्रदेशबाट गर्मी बढेसँगै यहाँ आउने पर्यटकको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ ।
प्राकृतिक सौन्दर्य, चीसो पानीको खोल्सा र हरियाली वातावरणका कारण त्रिखण्डी पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बनेको हो । गर्मी मौसममा यहाँको शीतल वातावरणले आगन्तुकलाई विशेष रूपमा लोभ्याउने गरेको छ । पिकनिक मनाउने, खोलामा नुहाउने तथा परिवार र साथीहरूसँग समय बिताउने उद्देश्यले दैनिक ठूलो सङ्ख्यामा पर्यटक आउने गरेका छन् ।
सामान्य दिनमा समेत चहलपहल देखिने यस क्षेत्रमा सार्वजनिक बिदा र सप्ताहान्तका दिनहरूमा अत्यधिक भीड हुने गरेको स्थानीयवासीले बताएका छन् । विद्यालय, कलेज, संघसंस्था तथा कार्यालय समूहहरू पनि पिकनिकका लागि यो स्थान रोज्ने गरेका छन् ।
हाल पिकनिकका लागि दुई/तीन वटा मात्र सेडको व्यवस्था गरिएको छ, जसका लागि शुल्क तिर्नुपर्छ । साथै, सवारीसाधन पार्किङका लागि चारचक्के सवारीसाधनबाट ५० रुपैयाँ शुल्क लिने गरिएको छ । तर प्रवेश शुल्क नलिइने भएकाले यो स्थान सर्वसाधारणका लागि अझै पनि सहज गन्तव्य बनेको छ ।
यद्यपि, बढ्दो पर्यटक चापका बीच आधारभूत पूर्वाधारको अभाव देखिन थालेको छ । त्रिखण्डीमा पर्याप्त शौचालय, खानेपानी सुविधा तथा फोहोर व्यवस्थापन प्रणाली नहुँदा समस्या बढ्दै गएको स्थानीय तथा आगन्तुकको गुनासो छ । विशेषगरी भीडभाडका दिनमा सरसफाइको समस्या अझ बढी देखिने गरेको छ ।
स्थानीय सरोकारवालाहरूले पर्यटन व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन् । शौचालय, खानेपानी, फोहोर व्यवस्थापन तथा विश्रामस्थलजस्ता पूर्वाधार विस्तार गर्न सके त्रिखण्डीको पर्यटन सम्भावना अझ व्यापक हुने उनीहरूको भनाइ छ ।
पर्यटक आगमन बढेसँगै स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव परे पनि व्यवस्थापन चुनौती थपिएको छ । उचित पूर्वाधार विकास र दीर्घकालीन योजनासहित अघि बढे त्रिखण्डी क्षेत्र आन्तरिक तथा सीमापार पर्यटनको प्रमुख केन्द्र बन्न सक्ने सम्भावना रहेको स्थानीयहरूको विश्वास छ ।