महोत्तरीको सम्सी गाउँपालिका–५ पोखरभिण्डा घर भएका तीन वर्षीय बालक मनिकेश कुमार यादव मृत अवस्थामा फेला परेका छन् ।
सम्सी गाउँपालिका–५ निवासी रोहित यादवका छोरा मनिकेश जेठ २२ गते शुक्रबार साँझ आफ्नै घर नजिकै खेल्ने क्रममा हराएका थिए । त्यसपछि आफन्त र प्रहरीले निरन्तर खोजतलास गरे पनि उनी फेला परेका थिएनन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेका अनुसार बालकको शव सम्सी गाउँपालिका–५ स्थित ब्रह्मस्थान नजिकै रहेको राजकिशोर तेलीको पोखरीमा पानीमा तैरिएको अवस्थामा फेला परेको हो ।
प्रहरीका अनुसार जेठ २४ गते साँझ बोरामा बाँधिएको अवस्थामा बालकको खुट्टा देखिएको सूचनापछि प्रहरी टोली घटनास्थल पुगेको थियो । त्यसपछि खोजतलास गर्दा पोखरीबाट शव बरामद गरिएको हो । बालकको शव बोरामा बाँधिएको अवस्थामा फेला परेकाले हत्या गरेर पोखरीमा फालिएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।