रौतहटको गढीमाई नगरपालिका–४ सुन्दरपुरस्थित गरुडा–समनपुर सडकखण्डमा अज्ञात सवारी साधनको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको अवस्थामा फेला परेका छन् ।
मृतकको पहिचान हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकर प्रसाद आचार्यका अनुसार नम्बर नखुलेको सवारी साधनले साइकल यात्रीलाई ठक्कर दिँदा उनको टाउको गम्भीर रूपमा क्षतिग्रस्त भएको र घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ ।
घटना कहिले भएको हो भन्ने यकिन नभए पनि सोमबार बिहान करिब ६ बजे स्थानीयवासीले सडक किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ डीएसपी आचार्यसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रारम्भिक अनुसन्धान अनुसार मृतक पुरुषको उमेर करिब ४० देखि ४५ वर्षको बीचमा हुन सक्ने अनुमान गरिएको छ । शव सडक किनारमा लडिरहेको अवस्थामा फेला परेको तथा उनको बायाँ खुट्टा साइकलमा अड्किएको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट मुचुल्का उठाई आवश्यक प्रमाण संकलन गरेको छ। घटनाको प्रकृति हेर्दा दुर्घटना वा अन्य कुनै कारण हुन सक्ने भएकाले दुवै कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मृतकको पहिचान खुलाउन आसपासका क्षेत्रमा सोधपुछ तथा अनुसन्धान तीव्र पारिएको छ। साथै शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाउने तयारी भइरहेको छ ।
प्रहरीले मृतकको पहिचान वा घटनाबारे कुनै जानकारी भए नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।