राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई परिपक्व व्यवहार देखाउन सुझाव दिएको छ । आज सिंहदरबारमा रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा राप्रपाले उक्त सुझाव दिएको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले वैदेशिक सम्बन्धका विषयमा अपरिपक्व अभिव्यक्ति नदिन आग्रह गरे । उनले भने, “वैदेशिक सम्बन्धका सवालमा अपरिपक्व व्यवहारहरू देखाउनु भएन। देश जित्नेको मात्र होइन, हार्नेको पनि हो । सरकारका गलत क्रियाकलापको सिकार सम्पूर्ण देशले व्यहोर्नुपर्ने हुन्छ । त्यसकारण परिपक्व व्यवहार आवश्यक छ ।”
राप्रपाले प्रधानमन्त्री बालेन शाहले संसदमा सीमा सम्बन्धमा दिएको मन्तव्य र रास्वपा सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिलाई पनि अपरिपक्व भएको भन्दै टिप्पणी गरेको छ ।
अध्यक्ष लिङ्देनले वैदेशिक सम्बन्ध संवेदनशील विषय भएकाले यसमा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए । भारत भ्रमणबाट फर्किएपछि रास्वपा सभापति लामिछानेले सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा भारत भ्रमणका क्रममा भएका कुराकानी र सरकारका लागि सुझाव संकलन गर्ने उद्देश्य रहेको बताइएको छ ।
२१ फागुनको निर्वाचनपछि झण्डै दुई तिहाइ बहुमतसहित सरकार सञ्चालन गरिरहेको रास्वपाले पहिलो पटक सर्वदलीय बैठक बोलाएको हो । बैठक जारी रहेको जनाइएको छ ।