राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम जिल्ला अधिवेशनअन्तर्गत रौतहटमा जारी निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित गरिएको छ ।
निर्वाचन प्रक्रियामा देखिएको आन्तरिक विवाद, सम्भावित झडप, सुरक्षा चुनौती तथा अन्य दलबाट हुन सक्ने घुसपैठलाई मध्यनजर गर्दै निर्वाचन रोक्न माग गर्दै सम्बन्धित पक्षले आइतबार निर्वाचन आयोगलाई पत्र बुझाएको हो ।
निर्वाचन संयोजकलाई सम्बोधन गरिएको पत्रमा जिल्लाका केही पालिकामा प्रतिनिधि छनोट प्रक्रियामै विवाद देखिएको, पारदर्शिताको अभाव रहेको तथा अधिवेशनको उद्घाटन सत्रमै झडप हुन सक्ने अवस्था रहेको उल्लेख गरिएको छ । त्यस्तै, उम्मेदवारी मनोनयनदेखि मतदाता नामावली टाँससम्मका प्रक्रियामा समस्या देखिएको र सुरक्षा कारणले मतदान प्रक्रिया सञ्चालन गर्न कठिनाइ भएको जनाइएको छ ।
उक्त पत्रमा संघीय सांसदहरू रौतहट–१ का राजेश चौधरी, रौतहट–३ का रवीन्द्र पटेल, रौतहट–४ का गणेश पौडेल र गजला शमीम मिकरानीको हस्ताक्षर रहेको छ । त्यस्तै संगठन विभाग सदस्य उदय नारायण सापकोटा, रौतहट–२ का सांसद प्रत्याशी शेख सागिर तथा श्रम विभाग सदस्य मोहम्मद शेख सनाउल्लाहलगायतले पनि पत्रमा हस्ताक्षर गरेका छन् ।
यसैबीच, अधिवेशनमा सहभागी केही नेताहरूले भने निर्वाचन स्थगनको मागलाई लोकतान्त्रिक प्रक्रियामाथिको हस्तक्षेपका रूपमा व्याख्या गर्दै प्रतिनिधिबाट हुने नेतृत्व चयन प्रक्रियामा प्रभावशाली नेताहरूले अनुकूल परिणाम ल्याउन प्रयास गरेको आरोप लगाएका छन् ।
जिल्ला अधिवेशनमा अध्यक्ष पदका लागि प्रदीप साह, अजय साह, रवीन्द्र यादव, राजेश चौधरीलगायत १० जनाको उम्मेदवारी परेको थियो। यसअघि निर्वाचन मण्डलले उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्दै सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने कार्यतालिका तय गरेको थियो ।