राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महोत्तरीको जिल्ला अधिवेशन तत्कालका लागि स्थगित गरिएको छ ।
निर्वाचन समिति महोत्तरीका संयोजक मनिष कुमार साहसहित केन्द्रीय सदस्यहरूको उपस्थितिमा आइतबार दोस्रो दिनसम्म पनि विवादित पक्षबीच सहमति जुट्न नसकेपछि अधिवेशन स्थगित गरिएको हो । संयोजक मनिष साह, केन्द्रीय सदस्य डा. नन्दन यादव, देवनारायण महतो, प्रतिनिधिसभा सदस्य प्रमोद महतो, निर्वाचन सदस्य महेश पुर्वे सुडी, पुजा झा, मनिष साह तथा जिल्ला कार्यवाहक सभापति चन्द्र किशोर महतोले संयुक्त रूपमा सूचना जारी गर्दै असहज परिस्थितिका कारण शान्ति सुरक्षालाई मध्यनजर गर्दै अर्को सूचना नआएसम्मका लागि बन्द सत्र स्थगित गरिएको जनाएका छन् ।
महोत्तरीका १० नगरपालिका र ५ गाउँपालिकामा भएका नगर तथा क्षेत्रीय अधिवेशनदेखि नै विवाद देखिँदै आएको र सोही विवाद जिल्ला अधिवेशनसम्म आइपुगेको बताइएको छ । पार्टी कार्यकर्ता मनोज सिंहका अनुसार उम्मेदवारी, प्रतिनिधि छनोट र नेतृत्व चयनलाई लिएर विभिन्न समूहबीच चर्को विवाद भएको थियो । मनरासिश्वामा भएको झडपमा तीन जना घाइते समेत भएको बताइएको छ ।
उनका अनुसार शुभम कुमार यादवको योगदान भए पनि उनलाई नेतृत्वमा आउन नदिन केही पक्षले विवाद सिर्जना गरेको आरोप लगाइएको छ । जिल्ला अधिवेशनमा एक पक्षले प्रक्रियागत त्रुटि भएको दाबी गरिरहेको छ भने अर्को पक्षले निर्धारित कार्यतालिका अनुसार अधिवेशन अघि बढाउनुपर्ने अडान लिँदै आएको कारण सहमति हुन नसकेको हो ।
सहमतिको वातावरण नबनेपछि अधिवेशन स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ ।