विश्वका ७० भन्दा बढी देशका विद्यार्थीहरूको सहभागिता रहेको एआई, रोबोटिक्स र कोडिङसम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली विद्यार्थीले उल्लेखनीय सफलता हासिल गरेका छन् । इन्डोनेसियाको राजधानी जाकार्तामा जेठ २ र ३ गते सम्पन्न प्रतियोगितामा नेपालका ६ विद्यार्थी टोलीले पुरस्कार जित्न सफल भएका छन् भने ३ टोली शीर्ष ३० उत्कृष्टभित्र पर्न सफल भएका छन् ।
संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यसँग सम्बन्धित विषयमा आधारित उक्त प्रतियोगितामा सहभागी नेपाली विद्यार्थीहरूले वायु प्रदूषण, दूषित पानी, आधुनिक कृषि प्रणाली तथा औषधि व्यवस्थापनजस्ता समस्यासँग सम्बन्धित नवीन समाधान र अवधारणाहरू प्रस्तुत गरेका थिए । उनीहरूको प्रस्तुतिलाई अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट मान्दै पुरस्कृत गरिएको हो ।
सूचना प्रविधिको क्षेत्रमा क्रियाशील नीमा एजुकेसन फाउन्डेसनले विभिन्न विद्यालयसँग समन्वय गरी ८ देखि १८ वर्ष उमेर समूहका ९८ विद्यार्थीलाई प्रतियोगितामा सहभागी गराएको थियो । फाउन्डेसनका अनुसार नेपाली टोलीहरूले प्रतिस्पर्धात्मक रूपमा उत्कृष्ट प्रदर्शन गर्दै देशको प्रतिष्ठा अन्तर्राष्ट्रिय स्तरमा बढाउन सफल भएका हुन् ।
प्रतियोगितामा सफलता हासिल गरेका विद्यार्थी तथा विद्यालयहरूलाई नीमा एजुकेसन फाउन्डेसनले काठमाडौंमा एक कार्यक्रमका बीच सम्मान तथा पुरस्कृत गरेको छ ।
कार्यक्रममा काठमाडौँ विश्वविद्यालय आइटी विभाग प्रमुख प्रा. डा. सुदन झाले नेपालका विद्यार्थीहरूले सूचना प्रविधि क्षेत्रमा विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गरिरहेको बताए । उनले एआई, रोबोटिक्स र कोडिङजस्ता प्रविधिहरू अहिले विश्व बजारमा अत्यन्तै महत्वपूर्ण बनेको उल्लेख गर्दै नेपालमा पनि दक्ष जनशक्ति उत्पादन भइरहेकोमा गर्व व्यक्त गरे ।
उनले विद्यालय तहदेखि नै सूचना प्रविधिलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउँदै समयअनुसार शिक्षा प्रणाली परिमार्जन गर्नुपर्नेमा जोड दिए ।