परीक्षाका बेला जफत गरिएका मोबाइल फोन नष्ट गरिएको घटनाविरुद्ध विद्यार्थीहरूले जिल्ला प्रशासन कार्यालय (सीडीओ) घेराउ गरेका छन् । संयुक्त विद्यार्थी संगठनको आयोजनामा सोमबार सिरहा सदरमुकाममा प्रदर्शन गर्दै विद्यार्थीहरूले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका हुन् ।
प्रदर्शनकारी विद्यार्थीहरूले मोबाइल नष्ट गरिएका परीक्षार्थीहरूलाई क्षतिपूर्ति दिनुपर्ने र उक्त निर्णयमा संलग्न सरकारी अधिकारीमाथि कारबाही गर्नुपर्ने माग गरेका छन् । उनीहरूले प्रशासनको निर्णय गैरजिम्मेवार भएको भन्दै तत्काल छानबिनको मागसमेत गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी नेतृत्वको परीक्षा समन्वय समिति मातहतको उपसमितिले एसईई र कक्षा १२ को परीक्षाका क्रममा परीक्षार्थीहरूबाट जफत गरिएका करिब ४९६ थान मोबाइल फोन तथा ५ वटा स्मार्ट घडी गत बिहीबार पानीमा डुबाएर नष्ट गरेको थियो ।
उक्त सामग्रीहरूको अनुमानित बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ । मोबाइल नष्ट भएपछि अभिभावक र विद्यार्थी दुवैले प्रशासनको निर्णयप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।
विद्यार्थी संगठनहरूले प्रशासनको कदमले विद्यार्थीको व्यक्तिगत सामग्री र महत्वपूर्ण डाटा नष्ट भएको भन्दै यसलाई गैरकानुनी र अमानवीय निर्णयको संज्ञा दिएका छन् । घेराउका क्रममा सुरक्षा निकायको बाक्लो उपस्थिति रहेको थियो। स्थिति केही समय तनावपूर्ण बने पनि कुनै ठूलो अप्रिय घटना भने नभएको जनाइएको छ ।
विद्यार्थीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।