नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले अर्थतन्त्र सुधारका लागि सही दिशा समातेको बताएका छन् ।
महासंघले सोमबार आयोजना गरेको नीति संवाद कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले लगानीको वातावरण सुधार, उत्पादन वृद्धि र स्वदेशमै रोजगारी सिर्जना गर्ने लक्ष्यतर्फ बजेट सकारात्मक रहेको बताए ।
उनले दशकौँदेखि नेपालको अर्थतन्त्र संरक्षणवाद, अनौपचारिकता र प्रशासनिक झन्झटको चक्रमा अल्झिएको उल्लेख गर्दै नयाँ बजेटले त्यो चक्र तोड्ने प्रयास गरेको बताए । “यो बजेटले सही दिशा समातेको छ, तर यसको प्रभाव कार्यान्वयनमा निर्भर रहनेछ,” उनले भने ।
अध्यक्ष श्रेष्ठले नेपालको अर्थतन्त्र अहिले असहज विरोधाभासमा रहेको उल्लेख गरे । उनका अनुसार बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको भए पनि कर्जा माग नबढेको, ब्याजदर ऐतिहासिक रूपमा घटेको तथा निजी क्षेत्रको लगानी सुस्त बनेको अवस्था छ ।
यस्तो शिथिलता र अन्योलबीच आएको बजेटले अर्थतन्त्रमा आत्मविश्वास र गति फर्काउने अपेक्षा बोकेको उनको भनाइ थियो । उनले बजेटले परम्परागत खर्च बाँडफाँटभन्दा माथि उठेर संरचनागत तथा कानुनी सुधारको महत्वाकांक्षा देखाएको भन्दै महासंघले यसलाई सकारात्मक रूपमा लिएको बताए ।
अध्यक्ष श्रेष्ठले सरकारले नीतिगत तथा कानुनी सुधारमा साहसिक कदम चालेको पनि उल्लेख गरे । “नेपालको समस्या कानुनको अभाव होइन, पुराना र व्यवसायलाई निरुत्साहित गर्ने कानुनहरूको बाहुल्य हो,” उनले भने ।
उनका अनुसार १५ कानुन तत्काल खारेज गर्न संशोधन विधेयक संसद्मा पेश गर्ने, उधारो असुली कानुन, बौद्धिक सम्पत्ति संरक्षण कानुन तथा सनसेट कानुन ल्याउने सरकारको प्रतिबद्धता दूरगामी महत्वको रहेको छ ।