छिन्नमस्ता गाउँपालिका–५ लोखरमकी ३७ वर्षीया जसो कुमारी महतोको जीवन केही वर्षअघिसम्म अनिश्चितता र आर्थिक चिन्ताले भरिएको थियो ।
परिवारको आर्थिक अवस्था सुधार्ने आशामा उनका श्रीमान् अरविन्द कुमार महतो दुई पटक वैदेशिक रोजगारीमा गए पनि अपेक्षित आम्दानी गर्न नसकेपछि दुवै पटक निराश भएर घर फर्किनुपरेको थियो । वैदेशिक रोजगारीबाट सफलता नपाएपछि परिवारको भविष्य अन्योलमा परेको थियो भने दैनिक खर्च चलाउनेदेखि बालबालिकाको शिक्षासम्मको चिन्ताले परिवारलाई सताइरहेको थियो ।
“श्रीमान् दुई–दुई पटक वैदेशिक रोजगारीबाट फर्किएपछि जीवन नै अँध्यारो लाग्थ्यो,” जसो महतो सम्झिनुहुन्छ, “तर अहिले जीवन उज्यालो भएको छ ।” उनीहरूको जीवनमा आशाको किरण बनेर आयो व्यावसायिक तरकारी खेती । कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईएफएडी), विश्व खाद्य कार्यक्रम (डब्लुएफपी), खाद्य तथा कृषि संगठन (एफएओ) र यूएन वुमेन को साझेदारीमा दिदीबहिनी र सप्रोस नेपाल द्वारा सञ्चालित ‘ग्रामीण महिला आर्थिक सशक्तीकरण कार्यक्रम’ अन्तर्गत जसोले तरकारी खेतीसम्बन्धी तालिम प्राप्त गरिन् । तालिमले उनलाई आत्मविश्वासका साथै आफ्नै गाउँमा सम्भावना खोज्ने प्रेरणा दियो ।
तालिमपछि उनले आफ्नै पाँच कठ्ठा जग्गामा मौसमअनुसार व्यावसायिक तरकारी खेती सुरु गरिन् । सुरुमा सामान्य रूपमा थालेको खेती अहिले परिवारको मुख्य आम्दानीको स्रोत बनेको छ । सप्रोस नेपालले निरन्तर प्राविधिक सहयोग प्रदान गर्दै आएकाले उत्पादनलाई व्यवस्थित र प्रभावकारी बनाउन सहज भएको उनका श्रीमान् अरविन्द महतो बताउँछन् ।
हाल जसो र अरविन्द दम्पतीले आफ्नै बारीमा उत्पादन गरेको तरकारी बिक्री गरेर मासिक ३० देखि ४० हजार रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । उनीहरूका दुई छोरा र एक छोरी निजी विद्यालयमा अध्ययनरत छन् भने एक छोरा काठमाडौंमा अध्ययन गरिरहेका छन् । कुनै समय वैदेशिक रोजगारीको असफलताले निराश बनेको परिवार अहिले आफ्नै गाउँमा कृषि कर्ममार्फत आत्मनिर्भर बनेको छ ।
जसोले उत्पादन गरेको ताजा तरकारी स्थानीय बजारमा लोकप्रिय बनेको छ । स्थानीय सामुदायिक विद्यालयको दिवा खाजाका लागि समेत उनको बारीमा उत्पादन भएको तरकारी प्रयोग गरिन्छ । गाउँका उपभोक्ता प्रत्यक्ष बारीमै पुगेर तरकारी खरिद गर्ने भएकाले बजारको खोजीमा भौंतारिनुपर्ने अवस्था नरहेको उनी बताउँछिन् ।
नेपालमा वैदेशिक रोजगारीलाई आर्थिक समृद्धिको प्रमुख माध्यमका रूपमा हेरिए पनि धेरै युवाले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको यथार्थ छ । सीप, सुरक्षित रोजगारी र उचित पारिश्रमिकको अभावमा कतिपय परिवार ऋण र निराशाको चक्रमा फस्ने गरेका छन् । जसो महतोको परिवार पनि त्यही अवस्थाबाट गुज्रिएको थियो । तर सही तालिम, प्राविधिक सहयोग र स्थानीय स्रोत–साधनको उपयोगले वैदेशिक रोजगारीको विकल्प आफ्नै गाउँघरमै सम्भव हुने सन्देश उनको सफलताले दिएको छ । सप्रोस नेपालका टिम लिडर तथा कृषि विज्ञ चन्दन केसी का अनुसार महिलालाई सामाजिक तथा आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यले पुष्पखेती, तरकारी खेती प्रवर्द्धन, व्यावसायिक साक्षरता, क्षमता अभिवृद्धि, माटाका भाँडा तथा ग्लास निर्माणलगायतका सीपमूलक तालिम सञ्चालन गरिँदै आएको छ ।
सप्रोस नेपालकी सप्तरी जिल्ला संयोजक बिमला न्यौपाने का अनुसार छिन्नमस्ता गाउँपालिकाको वडा नं. ३ र ५ तथा तिलाठी कोइलाडी गाउँपालिका का वडा नं. ३, ४ र ५ मा गरी ९० महिला समूह गठन गरिएको छ । प्रत्येक समूहमा ३० जना महिलाको सहभागितामा आर्थिक सशक्तीकरणका विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् ।