सरकारले नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नेतृत्वमा महावीर पुनलाई नियुक्त गरेको छ ।
प्रधानमन्त्री बालेन शाहले मंगलबार पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार पुनले गृहमन्त्रालयमा फर्किन लागेका सुदन गुरुङसँगै आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
पुन यसअघि सुशीला कार्की नेतृत्वको चुनावी सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीका रूपमा कार्यरत थिए । मन्त्री पदबाट राजीनामा दिएपछि उनले २१ फागुनमा सम्पन्न निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनको उम्मेदवारीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन गरेको थियो ।
मन्त्रिपरिषद् बैठकले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई प्राथमिकतामा राख्दै गत ३० वैशाखमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय स्थापना गर्ने निर्णय गरेको थियो । सोही मन्त्रालयको पहिलो मन्त्रीका रूपमा पुन नियुक्त भएका हुन् ।