मन्त्रिपरिषद्को बैठकले विभिन्न चार महत्वपूर्ण निर्णय गरेको छ ।
शिक्षा मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा ऊर्जा क्षेत्रको विकासका लागि महत्वपूर्ण मानिएका चार जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको जानकारी दिए ।
उनका अनुसार तल्लो अरुण, तल्लो न्यादी खोला, भुन्छा खोला र तादी खोला जलविद्युत् आयोजनाले अब राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न पाउनेछन् । बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रस्तावित निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८१ लाई पनि स्वीकृत गरेको छ ।
त्यसैगरी, लामो समयदेखि विवादमा रहेको नेपाल रेडक्रस सोसाइटीको व्यवस्थापनका लागि विशाल कुमार भण्डारीको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले बताए ।
मन्त्रिपरिषद्ले पूर्व गृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुदन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले पेस गरेको प्रतिवेदनलाई पनि ग्रहण गरेको छ । प्रतिवेदन कार्यान्वयनबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा प्रवक्ता पोखरेलले हाल प्रतिवेदन ग्रहण गर्ने निर्णय मात्र भएको र त्यसको अध्ययनपछि आवश्यक निर्णय लिइने बताए ।
उनले अर्को प्रसङ्गमा काठमाडौंमा मेट्रो रेल तथा मोनोरेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिँदै त्रिभुवन विश्वविद्यालयको बजेटमा कुनै पनि कटौती नहुने स्पष्ट पारे ।