राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेस प्रदेश अधिवेशन स्थगित गरिएको छ ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले मंगलबार सूचना जारी गर्दै जेठ २८ गतेका लागि निर्धारित प्रदेश अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको जनाएको हो । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीद्वारा जारी सूचनामा पार्टीको विधान, २०७९ (तेस्रो संशोधनसहित) को दफा ४९ बमोजिम आयोगलाई प्राप्त अधिकार प्रयोग गर्दै उक्त निर्णय गरिएको उल्लेख छ ।
आयोगका अनुसार मधेस प्रदेश अधिवेशनलाई निष्पक्ष, पारदर्शी, विश्वसनीय तथा विधिसम्मत रूपमा सम्पन्न गराउन आवश्यक देखिएकाले अधिवेशन स्थगित गरिएको हो । निर्णयसँगै प्रतिनिधि छनोट, निर्वाचन कार्यक्रम, उम्मेदवारी दर्ता, प्रचारप्रसार, बैठक, भेला तथा अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधि रोकिएको छ ।
यसअघि आयोगले मंगलबारका लागि तय गरिएको बारा जिल्ला अधिवेशनसमेत स्थगित गरेको थियो। प्रमुख केसीले अधिवेशनको नयाँ मिति, समय तथा संशोधित कार्यतालिकाबारे आयोगले पछि आधिकारिक जानकारी गराउने बताएका छन् । साथै, अधिवेशनसँग सम्बन्धित कुनै पनि नयाँ गतिविधि सञ्चालन नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ ।
मधेस प्रदेशमा रास्वपाको पालिका तथा जिल्ला अधिवेशन प्रक्रिया सुरुदेखि नै विवादित बन्दै आएको छ । अधिवेशनलाई लिएर पर्सा र सिरहामा कार्यकर्ताबीच झडपसमेत भएको थियो । पर्सामा सोमबार राति निर्वाचनमार्फत नयाँ नेतृत्व चयन भए पनि सिरहाको अधिवेशन प्रक्रिया अझै अन्योलमै रहेको छ ।
मधेसका अन्य जिल्लाहरूमा समेत जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेकाले प्रदेश अधिवेशन स्थगित गरिएको बताइएको छ ।