एमाले उपाध्यक्ष रामबहादुर थापा (बादल) नेतृत्वको ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ले विभिन्न प्रदेश, संगठन र निकायका पदाधिकारीहरूबाट सुझाव सङ्कलन गर्ने भएको छ ।
मंगलबार बसेको कार्यदलको बैठकले सुझाव सङ्कलन तथा भेला कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । उनका अनुसार सुझाव सङ्कलन तथा भेला सम्बन्धी विस्तृत तालिका समेत तय गरिएको छ ।
तालिकाअनुसार जेठ ३० गते बागमती प्रदेश, असार २ गते कोशी प्रदेश, ४ गते लुम्बिनी प्रदेश, ६ गते सुदूरपश्चिम प्रदेश, ८ गते कर्णाली प्रदेश, ११ गते गण्डकी प्रदेश, १३ गते मधेस प्रदेश, १६ गते काठमाडौं उपत्यका, १७ गते सम्पर्क समन्वय, १८ गते जनसंगठन तथा असार १९ गते विभाग प्रमुख र निकायका पदाधिकारीहरूको भेला गरी सुझाव सङ्कलन गरिनेछ ।
यी सबै भेलामा सम्बन्धित भूगोलका जिम्मेवारीमा रहेका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा जिल्ला पदाधिकारीहरूको सहभागिता रहनेछ। कार्यक्रमको संयोजन सम्बन्धित प्रदेशका इन्चार्जहरूले गर्नेछन् ।
कार्यदलको पहिलो बैठकले सदस्य सचिवको जिम्मेवारी महासचिव शंकर पोखरेललाई दिने निर्णय पनि गरेको छ । सबै भेलामा संयोजक, महासचिव तथा कार्यदल सदस्यहरूको उपस्थिति रहने बताइएको छ ।
कार्यदलका एक सदस्यका अनुसार सुझाव सङ्कलनका लागि पहिले नै प्रश्नावली तयार गरिनेछ र सोही आधारमा सुझाव संकलन गरिनेछ । बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ सक्रिय रूपमा जान निर्देशन दिएका थिए ।
गत जेठ १० गते बसेको एमाले केन्द्रीय सचिवालयको आठौं बैठकले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरणसहित पुनर्गठन कार्ययोजना तयार गर्न उपाध्यक्ष थापाको नेतृत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो ।
कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने समयसीमा दिइएको भए पनि पहिलो बैठक बस्नै १५ दिन लागेको र हाल तय गरिएको कार्यक्रम असार १९ सम्म फैलिएकाले प्रतिवेदन बुझाउने समयसीमा पनि पछि सारिने सम्भावना देखिएको छ ।