सवारी दुर्घटनापछि प्रहरीमाथि कुटपिट गरेको आरोप लागेपछि पूर्व मधेश प्रदेशसभा सदस्य तथा नेपाली कम्युनिस्ट पार्टीका नेता अशोक यादव फरार भएका छन् ।
प्रहरीका अनुसार सोमबार राति सर्लाहीको कविलासी नगरपालिका–८ अगर्वामा पार्किङ गरिएको ना. ६ ख. ७६२३ नम्बरको ट्रकमा यादवको ज. १ त. २५५० नम्बरको ट्याक्टर ठोक्किएको थियो ।
सोही दुर्घटनापछि यादवसहित करिब २०–२५ जनाको समूहले घटनास्थलमा खटिएका प्रहरीमाथि कुटपिट गरी ट्याक्टर लिएर फरार भएको आरोप छ । घटनापछि थप मद्दतमा पुगेको प्रहरी टोलीले सोमबार रातिदेखि नै यादवसहित घटनामा संलग्न व्यक्तिहरूको खोजी सुरु गरेको थियो । यस क्रममा पूर्व प्रदेशसभा सदस्य यादवका भतिजा १९ वर्षीय बिक्रमकुमार यादव र भारतीय नागरिक २१ वर्षीय प्रियांशु यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूविरुद्ध जिल्ला अदालत सर्लाहीबाट अभद्र व्यवहार मुद्दामा आठ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
प्रहरीले फरार रहेका अशोक यादवको खोजी जारी राखेको छ । मंगलबार दिउँसो ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी टोली यादवको घर सर्लाहीको कविलासी नगरपालिका–१० सलेमपुर पुगे पनि उनी फेला पर्न सकेनन् । यादवले भने मंगलबार बिहान सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै आफूविरुद्ध प्रशासनले गलत आरोप लगाएको र राजनीतिक प्रतिशोधका आधारमा फसाउन खोजिएको दाबी गरेका छन् । यसअघि पनि यादव विभिन्न विवादमा परेका पात्र हुन् ।
गत वर्ष पूर्वाधार विकास कार्यालय मलङ्गवामा कर्मचारीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका उनी प्रहरीसँगको विवादपछि करिब एक महिना हिरासतमा बसेर धरौटीमा रिहा भएका थिए ।