सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–५ जोगिनिया टोलमा मंगलबार भएको आगलागीमा पाँच परिवारका घर जलेर नष्ट भएका छन् ।
स्थानीय दुखु खंगको चारकोठे घरमा विद्युतीय तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । सुरुमा सोही घरबाट फैलिएको आगो नजिकैका अन्य घरहरूमा समेत सल्किँदा पाँच परिवारका घर तथा सम्पत्ति पूर्ण रूपमा जलेर नष्ट भएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयकुमार कार्कीका अनुसार आगलागीबाट कुल ४३ लाख ९३ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको छ ।
आगलागीबाट दुखु खंगको घर पूर्ण रूपमा जलेर नष्ट हुनुका साथै दुई बाख्रा र एक गाईको मृत्यु भएको छ भने तीन गाई घाइते भएका छन्। लत्ताकपडा, अन्नपात, सुनचाँदीलगायत सामग्री जलेर नष्ट हुँदा मात्र ७ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
त्यसैगरी, सदमलाल खंगको घर जलेर नष्ट हुँदा दुई खसी मरेका छन् भने लत्ताकपडा, अन्नपात तथा सुनचाँदीसमेत गरी ११ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
बच्चु खंगको घर तथा घरभित्रका सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा ११ लाख ३६ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
लखन खंगको बाँसको टाटी र टिनको छानो भएको दुईकोठे घर पनि पूर्ण रूपमा जलेर नष्ट हुँदा ८ लाख ४८ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
यस्तै, नारायण खंगको घरमा समेत आगलागी भई घरभित्र रहेका लत्ताकपडा, अन्नपात तथा सुनचाँदी जलेर नष्ट हुँदा ५ लाख २९ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
स्थानीयवासी, नेपाल प्रहरी तथा हनुमाननगर कङ्कालिनी नगरपालिका र कञ्चनपुर नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।