टिकटक स्टार बनाइदिने भन्दै भारत लगेर जबर्जस्ती अर्केस्ट्रामा काममा लगाइएकी एक १३ वर्षीया नेपाली किशोरीको उद्धार गरी स्वदेश फिर्ता ल्याइएको छ ।
मधेश प्रदेशकी ती किशोरीलाई सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान भएकी धनुषाकी एक युवतीले ‘टिकटक स्टार बनाउने’ र ‘राम्रो तलबको काम दिलाइदिने’ प्रलोभन देखाएर करिब चार महिनाअघि भारतको बिहारस्थित मोतिहारी पुर्याएको पाइएको छ । भारत पुगेपछि उनलाई जबर्जस्ती अर्केस्ट्रामा काम गर्न बाध्य बनाइएको थियो ।
परिवारले जानकारी दिएपछि मानव बेचबिखनविरुद्ध कार्यरत संस्था किन नेपाललाई घटनाबारे सूचित गरिएको थियो । त्यसपछि भारतीय प्रहरीको सहयोगमा ती बालिकाको उद्धार गरिएको हो । उद्धारपछि उनलाई भारतको बेतियास्थित बृहत् बालिका गृहमा राखिएको थियो ।
किन इन्डिया फाउन्डेसन र बाल कल्याण समिति मोतिहारीको समन्वयमा मंगलबार उनलाई वीरगंज फर्काइएको किन नेपाल वीरगंज शाखा प्रमुख मनु रानाले जानकारी दिनुभयो ।
यसअघि पनि साताअघि मानव बेचबिखन तथा शोषणमा परेका ६ जना नेपाली चेलीलाई विभिन्न स्थानबाट उद्धार गरी नेपाल ल्याइएको थियो। तीमध्ये पाँच जनालाई परिवारको जिम्मा लगाइएको छ भने एक जनालाई थप संरक्षण तथा पुनःस्थापनाका लागि सुरक्षित आवासमा राखिएको छ ।
किन नेपाल वीरगंज शाखाका अनुसार उद्धार गरिएकामध्ये सुनसरी, कपिलवस्तु, मकवानपुर र सिरहा जिल्लाका किशोरी तथा महिलाहरू रहेका छन् । उनीहरूलाई हरियाणा र बिहारका विभिन्न स्थानबाट उद्धार गरिएको हो ।
संस्थाका अनुसार केहीलाई जबर्जस्ती देह व्यापार तथा अर्केस्ट्रामा अश्लील नृत्य गराउन बाध्य पारिएको थियो । उनीहरूलाई शारीरिक तथा मानसिक शोषण गर्दै बन्धक बनाइएको अवस्थामा भारतीय प्रहरीले उद्धार गरेको बताइएको छ ।
पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालमार्फत प्रलोभन देखाएर किशोरी तथा महिलालाई भारत पुर्याई शोषण गर्ने घटना बढ्दो क्रममा रहेको सरोकारवालाहरूले बताएका छन् ।