सप्तरीको राजविराजस्थित सुविधा सम्पन्न बसपार्क उद्घाटन भएको एक वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन नसक्दा खेलकुद मैदान र घुमफिर गर्ने स्थलका रूपमा प्रयोग हुन थालेको छ ।
लामो समयदेखि बसपार्क सञ्चालनमा नआएपछि स्थानीय बालबालिका तथा युवाले खेल मैदानका रूपमा प्रयोग गर्दै आएका छन् भने सर्वसाधारणका लागि यो घुमफिर गर्ने आकर्षक स्थल बनेको छ ।
स्थानीय ममता यादवले बसपार्क सञ्चालनको प्रतीक्षा अझै जारी रहेको बताउनुभयो । “उद्घाटन भएको एक वर्ष बितिसक्दा पनि बसपार्क सञ्चालनमा आएको छैन । यहाँबाट बस तथा अन्य सवारीसाधनको आवतजावत कहिलेदेखि सुरु हुन्छ भन्ने विषयमा हामी अझै अन्योलमा छौँ,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार बसपार्क उद्घाटन भएदेखि नै बिहान र साँझ खेलकुद तथा घुमफिर गर्ने स्थानीयको भीड लाग्ने गरेको छ । बसपार्क सञ्चालनमा नआउँदा राजविराजका मुख्य सडकमै बस तथा अन्य सवारीसाधन पार्किङ हुने क्रम जारी रहेकाले सर्वसाधारणले सास्ती बेहोर्नुपरेको स्थानीयवासीको गुनासो छ । उनीहरूले बसपार्क तत्काल सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग माग गरेका छन् ।
चार दशकदेखि व्यवस्थित बसपार्कको अभाव झेल्दै आएको राजविराजमा १५ करोड ६० लाख रुपैयाँको लागतमा निर्माण गरिएको सुविधा सम्पन्न बसपार्क २०८२ साल जेठ १५ गते उद्घाटन गरिएको थियो । तर सञ्चालनका लागि तीन पटक बोलपत्र आह्वान गर्दा पनि कुनै कम्पनी वा व्यक्तिले आवेदन नदिएपछि ठेक्का प्रक्रिया अघि बढ्न नसकेको राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविन ले बताउनुभयो ।
उहाँका अनुसार कार्यविधिमा संशोधन गरी पुनः टेन्डर आह्वान गरिएको छ । “कार्यविधिमा आवश्यक संशोधन गरेर पुनः टेन्डर आह्वान गरेका छौँ । अब बसपार्क सञ्चालनमा आउनेमा हामी विश्वस्त छौँ,” उहाँले भन्नुभयो ।