बर्दियामा सरकारी कीर्ते छाप र दस्तखत प्रयोग गरी ठगी गरिएको मात्र नभई नक्कली सरकारी कार्यालय नै खडा गरेर ठगी गरेको घटना सार्वजनिक भएको छ ।
ठाकुरबाबा नगरपालिका–३ बगनाहामा ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग’ नामको नक्कली कार्यालय सञ्चालन गरी स्थानीयलाई रोजगारी दिने बहानामा ठगी गरिएको प्रहरीले जनाएको छ । सो कार्यमा संलग्न श्रीमान्–श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका–३ निवासी २४ वर्षीय घनश्याम न्यौपाने र उनकी श्रीमती दाङको लमही नगरपालिका–५ निवासी २३ वर्षीया कृपा चौधरी रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत दाङको लमहीमा रहेको ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ व्यवस्थापन कार्यालय’सँग मिल्दोजुल्दो नाम राखेर नक्कली साइनबोर्ड, लेटरप्याड र छाप प्रयोग गरी कार्यालय सञ्चालन गर्दै आएका थिए ।
उनीहरूले स्थानीयलाई जागिर दिने आश्वासन दिँदै विभिन्न व्यक्तिलाई कर्मचारीका रूपमा नियुक्त गर्ने, ज्यालादारी काममा लगाउने तर ज्याला नदिने गरेको पाइएको प्रहरीले जनाएको छ । त्यसैगरी, कार्यालय सञ्चालन गरिएको घरका धनीलाई घरको तल्ला थप्न लगाएर पनि भुक्तानी नदिएको आरोप समेत उनीहरूमाथि लागेको छ ।
घरधनीको जाहेरीपछि अनुसन्धान सुरु गरिएको र सो क्रममा नक्कली सरकारी कार्यालय सञ्चालन गरी ठगी गरिएको पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
हाल उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।