रौतहटको बौधीमाई नगरपालिका–७ स्थित बंकुल टोलमा नेपाल–भारत सीमाक्षेत्र नजिक लुकाएर राखिएको फर्सीको बीउ नियन्त्रणमा लिने क्रममा बुधबार राति प्रहरी र स्थानीयवासीबीच झडप भएको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले जानकारी दिएका छन् । झडपमा तीन जना सुरक्षाकर्मीसहित ६ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार भारतबाट अवैध रूपमा ल्याइएको फर्सीको बीउ बंकुल टोलस्थित एक मस्जिदको पछाडि लुकाएर राखिएको अवस्थामा फेला परेको थियो। उक्त बीउ नियन्त्रणमा लिन खोज्दा स्थानीयवासीले अवरोध गरेपछि तनाव उत्पन्न भई झडप भएको हो ।
झडपमा बौधीमाई नगरपालिका–७ का ४० वर्षीया सुदामा देवी राय, ४० वर्षीया हिरा मोतिया देवी यादव तथा ४५ वर्षीय जयलाल ठाकुर हजाम घाइते भएका छन् ।
यस्तै, प्रहरीतर्फ वरिष्ठ हवल्दार गजेन्द्र यादव तथा सहायक हवल्दारद्वय सम्झना चौधरी र देवराज महतो घाइते भएको जिल्ला प्रहरीले जनाएको छ ।
घाइते सुरक्षाकर्मीहरूको प्रादेशिक अस्पताल गौरमा तथा घाइते स्थानीयवासीहरूको चन्द्रज्योति कान्ती अस्पताल बंकुलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।