मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री नागेन्द्र प्रसाद साहले न्यूनतम सेवा मापदण्ड (एमएसएस) को प्रभावकारी कार्यान्वयनबाट स्वास्थ्य संस्थामा प्रदान गरिने सेवाको गुणस्तरमा उल्लेखनीय सुधार आउने बताउनुभएको छ ।
स्वास्थ्य निर्देशनालय मधेश प्रदेशद्वारा जनकपुरधाममा आयोजित “न्यूनतम सेवा मापदण्ड (एमएसएस) वार्षिक समीक्षा तथा अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरूका लागि अभिमुखीकरण कार्यक्रम” लाई सम्बोधन गर्दै मन्त्री साहले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले यसको गुणस्तरीय, सहज र प्रभावकारी प्रवाह सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
उहाँले स्वास्थ्य संस्थाहरूमा एमएसएसको पूर्ण कार्यान्वयन, नियमित अनुगमन तथा मूल्याङ्कनमार्फत सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । साथै अस्पताल व्यवस्थापन समितिको सक्रियता, स्वास्थ्यकर्मीको जिम्मेवारीबोध र सेवाग्राहीमैत्री वातावरणले स्वास्थ्य क्षेत्र सुधारमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।
मन्त्रालयका सचिव डा. प्रमोद कुमार यादवले स्वास्थ्यकर्मीको अभाव र व्यवस्थापनसम्बन्धी समस्याबारे जानकारी दिँदै दरबन्दीअनुसार कार्यस्थलमै उपस्थित गराउन काज फिर्ताका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्राचार गरिएको बताउनुभयो । उहाँले नवौँ तहका कर्मचारीको काज फिर्ता सम्बन्धी पहल पनि आवश्यक रहेको उल्लेख गर्नुभयो। साथै अस्पताल भवन अभाव समाधानका लागि टुक्रे योजनाभन्दा एकीकृत अस्पताल भवन निर्माणतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
निर्देशक सरोजचन्द्र न्यौपानेले एमएसएस स्वास्थ्य संस्थाको कार्यसम्पादन मूल्याङ्कनको महत्वपूर्ण आधार भएको बताउँदै यसले सेवा सुधारका लागि स्पष्ट मार्गदर्शन प्रदान गर्ने उल्लेख गर्नुभयो । उहाँले अनुगमन, छड्के निरीक्षण तथा आयुर्वेद चिकित्सालयमा समेत एमएसएस लागू गरिँदै राम्रो प्रगति भएको जानकारी दिनुभयो ।
महाशाखा प्रमुख डा. इन्द्रजित रजकले स्वास्थ्य संस्थाबीच स्वस्थ प्रतिस्पर्धा र गुणस्तरीय सेवा प्रवाहको संस्कार विकासमा एमएसएस प्रभावकारी हुने धारणा राख्नुभयो ।
शाखा प्रमुख सुनिता गुप्ताले वार्षिक समीक्षामा स्वास्थ्य संस्थाहरूको कार्यान्वयन अवस्था, उपलब्धि, चुनौती तथा सुधारका क्षेत्रहरूको विस्तृत प्रस्तुति दिँदै जनशक्ति अभाव, उपकरण तथा औषधि कमी प्रमुख चुनौती रहेको बताउनुभयो। उहाँले O&M प्रक्रिया र दक्ष जनशक्ति व्यवस्थापन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा सहभागीहरूले केही अस्पताल तथा स्वास्थ्य कार्यालयका प्रतिनिधिहरूको अनुपस्थिति तथा तयारीबिना सहभागिता भएको विषयलाई कमजोरीका रूपमा औँल्याएका थिए । समय व्यवस्थापन र अनुशासनमा सुधार आवश्यक रहेको निष्कर्षसमेत निकालिएको थियो ।
प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा. जामुन प्रसाद सिंहले यस्ता समीक्षा कार्यक्रमले स्वास्थ्य संस्थालाई आत्ममूल्यांकन गरी सुधारतर्फ अघि बढ्न सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका पदाधिकारी, स्वास्थ्य कार्यालय प्रमुख, अस्पताल प्रमुख तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले एमएसएसलाई अझ प्रभावकारी रूपमा लागू गर्दै स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्नुपर्नेमा जोड दिएका थिए ।