सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले भारतबाट अवैधरूपमा नेपाल भित्र्याइँदै गरिएको प्रतिबन्धित बोइलर कुखुराका चल्ला बरामद गरेको छ ।
विन्ध्यवासिनी गाउँपालिका–४ अमरपट्टीस्थित सीमावर्ती क्षेत्रमा खटिएको सशस्त्र प्रहरीको मोबाइल टोलीले सूचनाका आधारमा निगरानी गर्दै छापा मारी उक्त चल्ला नियन्त्रणमा लिएको हो ।
टोलीले करिब ७ लाख ४० हजार रुपैयाँ मूल्य बराबरका ७४ कार्टुनमा राखिएका ७ हजार ४०० वटा बोइलर चल्लासहित स्थानीय ४२ वर्षीय उमेश मुखियालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका चल्ला तथा पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ ।
पशु स्वास्थ्य तथा क्वारेन्टाइनसम्बन्धी प्रचलित कानुनी प्रक्रिया अनुसार नेपाल प्रहरी, क्वारेन्टाइन कार्यालयका प्रतिनिधि, स्थानीय सञ्चारकर्मी तथा जनप्रतिनिधिको रोहबरमा ती चल्लाहरू सशस्त्र प्रहरी बल नं. १३ गण मुख्यालय पर्सामा नष्ट गरिएको हो ।