रौतहटको परोहा नगरपालिका–७ नरकटिया गाउँकी एक वृद्धा महिला खेतमा मृत अवस्थामा फेला परेकी छन् ।
घटनापछि स्थानीयवासीले लुटपाटपछि हत्या गरिएको हुनसक्ने आशंका व्यक्त गरेका छन् । स्थानीय दीपनारायण पटेलकी ७० वर्षीया श्रीमती लखपतिया देवी शुक्रबार बिहान घरबाट खेतबारी हेर्न निस्किएकी थिइन् । केही समयपछि गाउँ नजिकै रहेको राजपइन (कुलो) छेउको खेतमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
घटनापछि गाउँमा शोकको वातावरण छाएको छ। स्थानीयका अनुसार वृद्धाले लगाउने सुनको नाकको फुली समेत नभेटिएकाले गहना लुटपाटका क्रममा हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त गौतमका अनुसार घटनास्थलको प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको नाकबाट रगत बगेको देखिए पनि शरीरमा अन्य कुनै चोटपटक फेला परेको छैन ।
उनले शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको जानकारी दिँदै पोस्टमार्टम प्रतिवेदन प्राप्त भएपछि मात्र मृत्युको वास्तविक कारण खुल्ने बताए ।
प्रहरीले घटनाको विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ। हालसम्म मृत्यु लुटपाट, हत्या वा अन्य कुनै कारणले भएको हो भन्नेबारे निष्कर्षमा पुग्न नसकिएको प्रहरीको भनाइ छ ।
डीएसपी गौतमका अनुसार मृतकका छोराले हालसम्म किटानी जाहेरीमा हत्याको आशंका उल्लेख नगरे पनि घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको छ ।