काठमाडौं । शकिरा र बर्ना बोय को संयुक्त प्रस्तुति रहेको गीत ‘दाई दाई’ विश्वकप फुटबलको इतिहासकै सर्वकालीन उत्कृष्ट गीत घोषित भएको छ ।
प्रतिष्ठित सांगीतिक म्यागजिन बिलबोर्ड ले आफ्ना पाठकमाझ गरिएको सर्वेक्षणका आधारमा उक्त गीतलाई सबै समयको उत्कृष्ट विश्वकप गीतको रूपमा चयन गरेको हो । बिलबोर्डका अनुसार सर्वेक्षणमा सहभागी पाठकमध्ये ३१ दशमलव २८ प्रतिशतले ‘दाई दाई’ लाई मतदान गरेका थिए । यससँगै गीतले विश्वकपका आधिकारिक गीतहरूमध्ये पहिलो स्थान हासिल गरेको हो ।
सूचीको दोस्रो स्थानमा शकिराकै चर्चित गीत ‘वाका वाका : दिस टाइम फर अफ्रिका’ रहेको छ । उक्त गीतले २६ दशमलव ६४ प्रतिशत मत प्राप्त गरेको छ । सन् २०१० को विश्वकपका क्रममा सार्वजनिक भएको यो गीत विश्वभर अत्यधिक लोकप्रिय बनेको थियो ।
सन् १९९० यता विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेका १० वटा आधिकारिक विश्वकप गीतमध्ये पाठकले आफ्नो रोजाइका गीतलाई मतदान गरेका थिए । यस वर्ष सार्वजनिक गरिएको विश्वकप २०२६ को आधिकारिक गीत ‘दाई दाई’ ले अफ्रोबिट्स, डान्स–पप, रेगेटोन र विश्व संगीतको संयोजनमार्फत खेलकुदको एकता, उत्साह र विश्वव्यापी सद्भावको सन्देश दिएको छ ।
गीतमा फुटबलका महान् खेलाडीहरू डिएगो म्याराडोना, पाओलो माल्दिनी, रोमारियो, क्रिस्टियानो रोनाल्डो, डेभिड बेकह्याम, काका र लियोनेल मेस्सी को समेत उल्लेख गरिएको छ ।
यसैबीच, रिकी मार्टिन ले सन् १९९८ को विश्वकपका लागि गाएको चर्चित गीत ‘कप अफ लाइफ (ला कोपा दे ला भिडा)’ झन्डै २५ प्रतिशत मतसहित तेस्रो स्थानमा परेको छ । विश्वकप इतिहासकै सबैभन्दा लोकप्रिय गीतमध्ये एक मानिने यस गीतले रिकी मार्टिनको अन्तर्राष्ट्रिय सांगीतिक यात्रालाई नयाँ उचाइमा पुर्याएको थियो ।
सर्वेक्षणमा लोकप्रिय बनेका अन्य विश्वकप गीतहरूमा पिटबुल, जेनिफर लोपेज र क्लाउडिया लेइटे को ‘ओले ओला (वी आर वन)’ तथा इल डिभो र टोनी ब्र्याक्सटन को ‘द टाइम अफ आवर लाइभ्स’ पनि समावेश रहेका छन् ।