जनकपुरधाम | धनुषाको धनुषाधाम नगरपालिका–५ स्थित नौ सय बिघा क्षेत्रमा जडान गरिएको विद्युतीय ट्रान्सफर्मर चोरीको प्रयास भएको आशङ्कामा प्रहरीले भारतीय नम्बर प्लेटको कार नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय उमाप्रेमपुरका इन्चार्ज अजयकुमार झाका अनुसार शुक्रबार राति करिब १ बजे बीआर ०१ इके ४०२४ नम्बरको भारतीय कार नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार खेत सिँचाइका लागि प्रयोग गरिएको ट्रान्सफर्मर पोलबाट तल खसालिएको अवस्थामा फेला परेको थियो । नियमित गस्तीका क्रममा उक्त ट्रान्सफर्मर शंकास्पद रूपमा तल झारिएको देखिएपछि चोरीको प्रयास भएको हुन सक्ने अनुमान गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
घटनामा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा घटनास्थल नजिकै बेवारिसे अवस्थामा पार्किङ गरिएको भारतीय नम्बर प्लेटको कार फेला परेको प्रहरीले जनाएको छ ।
कारको जाँच गर्दा ट्रान्सफर्मर चोरीमा प्रयोग हुने विभिन्न सामग्री बरामद भएको इन्चार्ज झाले जानकारी दिए । उनका अनुसार कारको डिक्कीबाट ट्रान्सफर्मरभित्र प्रयोग हुने तामाको तार, ट्रान्सफर्मरको तेल, काठका टुक्रा तथा ट्रान्सफर्मर खोल्न प्रयोग गरिने विभिन्न साइजका औजार बरामद गरिएको छ ।
त्यसैगरी, कारभित्र नेपाल टेलिकम (एनटिसी) को सिम प्रयोग भएको मोबाइल फोन, विक्कीकुमार साह सोनारको नाममा रहेको सवारी चालक अनुमतिपत्र तथा विभिन्न मितिका भन्सारसम्बन्धी कागजातसमेत फेला परेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको र संलग्न व्यक्तिको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।