बारा । बारामा हुलाक सेवामार्फत एकै दिन २६ जनालाई राहदानी (पासपोर्ट) घरमै पुगेर वितरण गरिएको छ ।
जिल्ला हुलाक कार्यालय बाराका मातहत रहेका पालिका हुलाक प्रमुखहरूले शुक्रबार सेवाग्राहीहरूको घरमै पुगेर राहदानी हस्तान्तरण गरेका हुन् ।
जिल्ला हुलाक कार्यालय बाराका खरिदार गौतम सिंह बस्तीका अनुसार सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीअन्तर्गत जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला हुलाक कार्यालय बाराबीच गत वैशाख २५ गते राहदानी हुलाकमार्फत घरमै पुर्याउने सम्बन्धमा औपचारिक सम्झौता भएको थियो ।
उक्त सम्झौताअनुसार जिल्ला प्रशासन कार्यालय बाराले बिहीबार पहिलो पटक २८ वटा राहदानी जिल्ला हुलाक कार्यालयलाई हस्तान्तरण गरेको थियो । तीमध्ये शुक्रबार २६ वटा राहदानी सम्बन्धित सेवाग्राहीसम्म पुर्याइएको उनले जानकारी दिए। बाँकी दुई राहदानी वितरणको प्रक्रिया जारी रहेको छ ।
उनका अनुसार जिल्ला हुलाक कार्यालय बारामा प्राप्त दुई राहदानीमध्ये एक वितरण गरिएको छ भने अर्को वितरण हुन बाँकी छ । त्यस्तै, हुलाक कार्यालय जितपुरसिमरा उपमहानगरपालिकामा प्राप्त १० राहदानीमध्ये ९ वटा वितरण गरिएको छ भने एक बाँकी रहेको छ ।
हुलाक कार्यालय निजगढमा प्राप्त सबै आठ राहदानी वितरण गरिएको छ । यस्तै देवताल गाउँपालिकामा एक, बारागढी गाउँपालिकामा एक, कोल्हवी नगरपालिकामा दुई, महागढीमाई नगरपालिकामा तीन तथा सुवर्ण गाउँपालिकामा एक राहदानी सम्बन्धित सेवाग्राहीलाई वितरण गरिएको कार्यालयले जनाएको छ ।