काठमाडौं । नेपाली कांग्रेसले जेठ २८ गतेसम्म क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि थप समय दिएको छ । सदस्यता व्यवस्थापन केन्द्रीय समितिको शनिबार बसेको बैठकले केही जिल्लामा असार ७ गतेसम्म सदस्यता अद्यावधिक गर्ने म्याद थप्ने निर्णय गरेको हो ।
समितिका अनुसार इन्टरनेट पहुँच न्यून भएका उच्च हिमाली क्षेत्रका केही जिल्ला, विकट पहाडी क्षेत्रका केही पालिका तथा सदस्यता अद्यावधिकमा ढिलाइ भएका बारा र खोटाङ जिल्लाका लागि असार ७ गतेसम्मको समय दिइएको छ ।
त्यसैगरी विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूका लागि सदस्यता अद्यावधिकको समय असार १० गतेसम्म कायम गरिएको छ ।
कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत कुल ७ लाख ८२ हजार २०९ क्रियाशील सदस्यमध्ये जेठ २८ गतेसम्म ६ लाख ८७ हजार ९३१ सदस्यको विवरण डिजिटल प्रणालीमा प्रविष्ट भइसकेको जनाएको छ ।
पार्टीका अनुसार हालसम्म ५ लाख ३८ हजार ६२२ सदस्यले एनसीआईडी प्राप्त गरिसकेका छन् भने १ लाख ४९ हजार ३०९ सदस्यको विवरण वडा तहबाट अद्यावधिक प्रक्रियामा रहेको छ।
समितिले अनलाइन प्रणालीमा प्रविष्ट नभएका फारामहरू असार ५ गतेभित्र अनुमोदन गरिसक्न सम्बन्धित वडा समितिलाई निर्देशन दिएको छ । साथै क्रियाशील सदस्यता शुल्क नबुझाएका सदस्यलाई तत्काल शुल्क बुझाउन आग्रह गर्दै अन्यथा १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुन नपाउने जनाएको छ।
यस्तै, वडाबाट सदस्यता अद्यावधिक गर्न छुटेका सदस्यहरूले प्रमाणसहित असार २० गतेसम्म केन्द्रीय कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था गरिएको छ । साथै वडा समितिहरूलाई अद्यावधिक हुन छुटेका सदस्यको संख्या उल्लेख गरी सात दिन नबढ्ने गरी थप समय माग्न इमेलमार्फत जानकारी गराउन पनि आग्रह गरिएको छ ।


