सप्तरी । सप्तरीको रूपनी गाउँपालिका–१ का चार परिवारले बसोवास गरेको करिब ५० वर्षपछि जग्गाधनी पुर्जा प्राप्त गरेका छन् ।
जग्गाधनी पुर्जा प्राप्त गर्नेमा फुलोदेवी साह, अनितादेवी साह, मो. सुलेमान मियाँ र केदारप्रसाद साह रहेका छन् । शनिबार आयोजित एक कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवले उनीहरूलाई जग्गाधनी पुर्जा हस्तान्तरण गरेका हुन् ।
गाउँपालिका अध्यक्ष यादवका अनुसार २०३२ सालमा तत्कालीन नकटी रायपुर गाउँपञ्चायतले स्थानीय १२ जना जग्गाधनीबाट रूपनी बजार स्थापना गर्न ६ बिघा १० कट्ठा जग्गा खरिद गरेको थियो । उक्त जग्गालाई २०१ वटा प्लटमा विभाजन गरी बसोवासका लागि स्थानीयलाई उपलब्ध गराइएको थियो ।
प्लटमा बसोवास गर्ने व्यक्तिहरूले तत्कालीन गाउँपञ्चायत, त्यसपछि गाविस हुँदै हालसम्म गाउँपालिकालाई नियमित रूपमा कर तिर्दै आए पनि जग्गा भने मूल जग्गाधनीकै नाममा रहँदा पुर्जा प्राप्त गर्न समस्या भएको थियो ।
अध्यक्ष यादवले जग्गाधनी परिवारसँग समन्वय गरी वर्षौंदेखि बसोवास गर्दै आएका व्यक्तिहरूलाई क्रमशः जग्गाधनी पुर्जा उपलब्ध गराउने काम भइरहेको जानकारी दिए । उनका अनुसार हालसम्म रूपनी बजारका २५ जनाले जग्गाधनी पुर्जा पाइसकेका छन् भने अझै १७६ जना पुर्जा पाउन बाँकी छन् ।
५० वर्षपछि जग्गाधनी पुर्जा प्राप्त गरेपछि खुसी व्यक्त गर्दै ६७ वर्षीय मो. सुलेमान मियाँले आफू १७ वर्षको उमेरमा उक्त स्थानमा बसोवास गर्न आएको र आधा शताब्दीपछि मात्र जग्गाको स्वामित्व प्राप्त भएको बताए ।
त्यसैगरी, अनितादेवी साहले आफ्ना ससुराले बसोवासका लागि प्लट खरिद गरेको स्मरण गर्दै ५० वर्षपछि जग्गाधनी पुर्जा प्राप्त गर्दा निकै खुसी लागेको प्रतिक्रिया दिइन् ।