सर्लाहीको बागमती नगरपालिका–९ स्थित निर्माण चोकमा आइतबार बिहान इभी गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की एक जना गम्भीर घाइते भएकी छन् ।
बिग्रिएर टुचन लगाई तानेर लैजाँदै गरिएको बागमती प्रदेश ०३–००१ ज ०७७६ नम्बरको इभी हायस गाडीले ठक्कर दिँदा स्थानीय ५५ वर्षीया जयकुमारी देवीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार उक्त इभी गाडीलाई प्रदेश २–०२–००१ ह १८७९ नम्बरको अटोले मर्मतका लागि तानेर लैजाँदै गर्दा बाटोमा हिँडिरहेका जयकुमारी देवी र स्थानीय ४० वर्षीया पुनमदेवी यादवलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि वीरगञ्जतर्फ लैजाने क्रममा जयकुमारी देवीलाई प्रादेशिक अस्पताल कलैया, बारामा स्वास्थ्य परीक्षण गर्दा चिकित्सकले मृत घोषणा गरेका थिए ।
इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डीएसपी) गोपीकृष्ण सुवेदीका अनुसार घाइते पुनमदेवी यादवको कलैयास्थित एक निजी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा संलग्न इभी गाडी, अटो तथा दुवै सवारी चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।