बाराको महागढीमाई नगरपालिका अन्तर्गत गञ्जभवानीपुर क्षेत्रमा अवैध घरेलु मदिरा उत्पादन तथा बिक्री–वितरण हुने भट्टीहरू सञ्चालन भइरहेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।
स्थानीयवासीका अनुसार गञ्जभवानीपुर क्षेत्रमा एक दर्जनभन्दा बढी अवैध घरेलु मदिरा भट्टीहरू सञ्चालनमा रहेका छन् । उनीहरूले भट्टी सञ्चालक र प्रहरीबीच आर्थिक लेनदेन हुने गरेको दाबी गरेका छन् । तर, यसबारे सम्बन्धित निकायबाट आधिकारिक पुष्टि भएको छैन । अवैध मदिरा उत्पादनका कारण बस्तीमा दुर्गन्ध फैलिएको, वातावरण प्रदूषित बनेको तथा सामाजिक विकृति बढ्दै गएको स्थानीयवासीको गुनासो छ । मदिरा उत्पादनका क्रममा निस्कने धुवाँ र गन्धका कारण दैनिक जनजीवन प्रभावित भइरहेको उनीहरूको भनाइ छ ।
स्थानीयका अनुसार यसले विशेषगरी युवापुस्तामा कुलत बढ्ने तथा सामाजिक असुरक्षाको जोखिमसमेत बढाएको छ । उनीहरूले अवैध मदिरा उत्पादन तथा बिक्री–वितरण नियन्त्रण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
यस विषयमा प्रतिक्रिया लिन खोज्दा गञ्जभवानीपुर प्रहरी चौकीका इन्चार्ज प्रवीण मिश्र सम्पर्कमा आउन चाहेनन् । त्यसैगरी जिल्ला प्रहरी कार्यालय बाराका अधिकारीहरूसँग पनि सम्पर्कको प्रयास गरिए पनि समाचार तयार पार्दासम्म कुनै आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेन ।
स्थानीयवासीले अवैध मदिरा उत्पादन तथा बिक्री–वितरणमा संलग्नमाथि कारबाही गर्न माग गरेका छन् ।