मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सोमबार सार्वजनिक गर्ने भएको छ ।
प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
प्रदेश अर्थ मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षको बजेट गत वर्षको तुलनामा केही कम आकारको हुने संकेत देखिएको छ । स्रोतको सीमितता तथा राजस्व संकलनको अवस्थालाई मध्यनजर गर्दै बजेटको सिलिङ घटाइएको मन्त्रालयले जनाएको छ ।
यसअघि आइतबार प्रदेशसभा बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री भट्टराईले मधेश प्रदेशको कुल गार्हस्थ उत्पादन ८ खर्ब ८३ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको जानकारी दिएका थिए । उनका अनुसार यो रकम नेपालको समग्र अर्थतन्त्रमा करिब १३ दशमलव १ प्रतिशत योगदान बराबर हो ।
अर्थमन्त्री भट्टराईले बाह्य तथा आन्तरिक विभिन्न कारणले चालु आर्थिक वर्षमा मधेश प्रदेशको आर्थिक वृद्धिदर १ दशमलव ३१ प्रतिशतमा सीमित भएको बताए।
उनका अनुसार मधेश प्रदेशको अर्थतन्त्रमा कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान सबैभन्दा बढी ३४ दशमलव ९७ प्रतिशत रहेको छ। यसले प्रदेशको अर्थतन्त्र अझै पनि कृषि क्षेत्रमा अत्यधिक निर्भर रहेको देखाएको उनले बताए।
चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर १ दशमलव ४४ प्रतिशत रहने अनुमान गरिएको छ। यद्यपि, अन्नबाली उत्पादनमा केही गिरावट आएको अर्थमन्त्री भट्टराईले जानकारी दिए।
तरकारी उत्पादनतर्फ भने सकारात्मक सुधार देखिएको छ। आर्थिक सर्वेक्षणअनुसार मधेश प्रदेशमा तरकारी उत्पादन ५ दशमलव २३ प्रतिशतले वृद्धि भई ९ लाख ६७ हजार मेट्रिक टन पुगेको छ।
आज प्रस्तुत हुने बजेटमा कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा रोजगारीका क्षेत्रमा विशेष प्राथमिकता दिइने अपेक्षा गरिएको छ।