रौतहट प्रहरीले करिब पाँच किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गौर नगरपालिका–४ निवासी २६ वर्षीय राकेश कुमार कुशवाहा र २४ वर्षीय सुनिल कुमार बैठा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले गौर नगरपालिका–४ स्थित गढवा क्षेत्रमा बीआर ०५ एस ६६०९ नम्बरको भारतीय सुपर स्प्लेन्डर मोटरसाइकललाई रोकेर जाँच गर्ने क्रममा उनीहरूको साथबाट ५ किलो ५५ ग्राम लागूऔषध गाँजा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त गौतमका अनुसार बरामद गाँजा, एक थान मोबाइल फोन तथा प्रयोग गरिएको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ ।
पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा रौतहट जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई निरन्तरता दिँदै यस्ता अवैध गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाहीलाई थप कडाइ गरिने जनाएको छ ।