रौतहटको गौर–बैरगनिया सीमा क्षेत्रमा भारतीय पक्षले मर्मतको नाममा एकतर्फी रूपमा बाँधलाई थप अग्लो र बलियो बनाएको छ ।
यसले गौर नगरसहित आसपासका नेपाली बस्तीहरूमा बर्सेनि हुने डुबानको जोखिम झन् बढाएको स्थानीयवासीले बताएका छन्। सीमा क्षेत्रको दशगजा वा त्यसको नजिक दुवै देशको सहमतिबिना कुनै पनि भौतिक संरचना निर्माण, विस्तार वा परिवर्तन गर्न नपाइने प्रावधान रहे पनि भारतीय पक्षले बाँधमा माटो थपेर उचाइ र चौडाइ बढाइरहेको आरोप स्थानीयको छ ।
स्थानीय अमित केशरीका अनुसार बैरगनिया क्षेत्रमा निर्माण गरिएको करिब १५ फिट अग्लो र पाँच किलोमिटर लामो बाँधका कारण वर्षायाममा बाढीको पानीको निकास अवरुद्ध हुने गरेको छ । बाँधकै कारण गौर नगरसहित दर्जनौँ नेपाली गाउँहरू हरेक वर्ष डुबानमा पर्दै आएका छन् ।
उनका अनुसार भारतीय पक्षले बाँधअन्तर्गत रहेका तीनवटा सुलीसगेट (पानी निकास ढोका) बन्द गर्दै आएकाले बाढीको पानी नेपालतर्फ फर्किने र गौर नगर क्षेत्र डुबानमा पर्ने समस्या दोहोरिँदै आएको छ। गौर डुबानमा परेपछि नेपाली पक्षले बाँध भत्काउन वा सुलीसगेट खोल्न सक्ने आशंकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोली २४सै घण्टा बाँध क्षेत्रमा तैनाथ रहने गरेको पनि उनले बताए ।
नेपाल पत्रकार महासङ्घ रौतहट शाखाका सचिव तथा गौरवासी गौतम श्रेष्ठका अनुसार बाँध अग्लो बनाइँदा नेपालतर्फबाट बग्ने लालबकैया र बागमती नदीको पानीले निकास पाउन नसकी ‘ब्याक वाटर’ भएर नेपाली बस्तीमा पस्ने गरेको छ। बाँधमा थपिएको माटोले बाढीको बहाव रोकिँदा गौर र आसपासका क्षेत्रहरू पूर्ण रूपमा डुबानमा पर्ने गरेका छन् ।
गौर नगरपालिकाका पूर्व नगरप्रमुख अजयकुमार गुप्ताले नेपाल–भारतबीचको सहमतिअनुसार सीमारेखाको निश्चित दूरीभित्र एकतर्फी रूपमा बाँध वा सडकजस्ता अग्ला संरचना निर्माण गर्न नपाइने बताए। तर भारतले आफ्नो भूभागलाई डुबानबाट जोगाउने नाममा बाँधमा माटो थप्दै उचाइ र चौडाइ बढाइरहेको उनको आरोप छ ।
उनका अनुसार भारतले पूर्वमा बागमती नदीदेखि पश्चिममा बकैया नदीपारि बन्जराहा गाउँसम्म करिब पाँच किलोमिटर क्षेत्रमा बाँध निर्माण गरेपछि गौर नगर क्षेत्र बर्सेनि डुबानमा पर्दै आएको छ । उनले विसं २०७७ मा गौर नगरपालिका–२ महादेवपट्टि क्षेत्रमा बकैया नदीमा तटबन्ध निर्माण गर्दा भारतीय पक्षले अवरोध गरेको स्मरण गराउँदै अहिले भने भारतले मनपरी ढङ्गले बाँध मर्मतको काम गरिरहेको बताए ।
यता रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले भारतीय समकक्षी सितामढी जिल्लाकी जिल्ला अधिकारी (डीएम) रुचि पाण्डेसँग बाँधमा माटो थप्ने विषयमा ध्यानाकर्षण गराइएको जानकारी दिए । भारतीय पक्षले भने केन्द्रीय सरकारको निर्देशनअनुसार बाँध मर्मतको काम भइरहेको जनाएको छ ।
स्थानीय तथा सरोकारवालाहरूले सीमा र अन्तर्राष्ट्रिय सन्धिसँग जोडिएको विषय भएकाले नेपाल सरकारले कूटनीतिक पहलमार्फत यसको स्थायी समाधान खोज्नुपर्ने माग गरेका छन् ।
भारतीय पक्षले एकतर्फी रूपमा निर्माण गरेको बाँधका कारण रौतहटको राजदेवी नगरपालिकाको बेलबिछुवा, ब्रह्मपुरी, लक्ष्मीपुर, गौर नगरपालिकाका नौवटै वडा तथा इशनाथ नगरपालिकाका बैरिया, औरैया र बन्जराहा लगायतका बस्तीहरू बर्सेनि डुबानमा पर्दै आएका छन् । डुबानका कारण हरेक वर्ष करोडौँ रुपैयाँ बराबरको धनजन तथा बालीनालीमा क्षति हुने गरेको स्थानीयवासीको गुनासो छ ।