राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत बारा जिल्लामा सञ्चालन भइरहेको तथ्याङ्क सङ्कलन कार्य अन्तिम चरणमा पुगेको छ ।
जिल्ला आर्थिक गणना कार्यालय बाराका अनुसार हालसम्म जिल्लाभरका २१ हजार ७४ वटा व्यवसाय तथा प्रतिष्ठानको स्थलगत गणना सम्पन्न भइसकेको छ । जिल्ला आर्थिक गणना अधिकारी राजेश दासले राष्ट्रिय तथ्याङ्क कार्यालय, थापाथलीले बारामा २० हजार ९२१ प्रतिष्ठानको गणना गर्ने लक्ष्य निर्धारण गरेको भए पनि लक्ष्यभन्दा बढी प्रतिष्ठानको तथ्याङ्क सङ्कलन गर्न सफल भएको जानकारी दिए ।
प्रारम्भिक तथ्याङ्कले जिल्लामा पछिल्ला वर्षहरूमा आर्थिक गतिविधि विस्तार हुँदै गएको तथा व्यावसायिक प्रतिष्ठानको संख्या उल्लेख्य रूपमा वृद्धि भएको देखाएको छ। यसले बाराको आर्थिक क्षेत्र क्रमशः सुदृढ बन्दै गएको संकेत गरेको अधिकारी दासले बताए ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले “अर्थतन्त्र मापनका लागि आर्थिक गणना” भन्ने मूल नारासहित दोस्रो राष्ट्रिय आर्थिक गणना–२०८२ सञ्चालन गरिरहेको छ । देशभर वैशाख २ गतेदेखि असार ७ गतेसम्म स्थलगत तथ्याङ्क सङ्कलनको कार्य भइरहेको छ ।गणना कार्यलाई प्रभावकारी बनाउन बारा जिल्लामा ६६ जना गणक र ९ जना सुपरिवेक्षक परिचालन गरिएको छ । उनीहरूले स्थानीय तह, वडा कार्यालय तथा सरोकारवाला निकायसँग समन्वय गरी व्यवसाय तथा प्रतिष्ठानमा पुगेर स्थलगत तथ्याङ्क सङ्कलन गरिरहेका छन् ।
गणनाको क्रममा जिल्लाका १६ वटै स्थानीय तहमा रहेका उद्योग, व्यापार, सेवा, होटल, रेष्टुरेन्ट, निर्माण सामग्री, वित्तीय सेवा, कृषि तथा अन्य आर्थिक गतिविधिसँग सम्बन्धित प्रतिष्ठानहरूको विवरण सङ्कलन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य सङ्घ, स्थानीय तह, व्यवसायी तथा अन्य सरोकारवालाको सहयोगका कारण गणना कार्य प्रभावकारी रूपमा अगाडि बढिरहेको जिल्ला आर्थिक गणना कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार निर्धारित समयभित्र गुणस्तरीय तथ्याङ्क सङ्कलन सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आर्थिक गणनाबाट प्राप्त तथ्याङ्कले मुलुकका आर्थिक प्रतिष्ठानको वास्तविक अवस्था, रोजगारीको स्थिति, व्यवसायको प्रकृति, लगानीको अवस्था तथा आर्थिक योगदानबारे विस्तृत जानकारी उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
यसबाट प्राप्त तथ्याङ्क सरकारका विभिन्न तहमा नीति निर्माण, योजना तर्जुमा, लगानी प्रवर्द्धन तथा आर्थिक विकासका कार्यक्रम तय गर्न महत्वपूर्ण आधार बन्ने विश्वास लिइएको छ ।
कार्यालयले गणनामा सहयोग गर्न तथा छुटेका प्रतिष्ठानहरूले आवश्यक विवरण उपलब्ध गराउन सम्बन्धित व्यवसायी तथा उद्योगीलाई आग्रह गरेको छ । गणनाको अन्तिम प्रतिवेदन सार्वजनिक भएपछि जिल्लाको आर्थिक संरचना, व्यावसायिक प्रवृत्ति तथा रोजगारीको अवस्थाबारे थप स्पष्ट चित्र प्राप्त हुने अधिकारी दासले बताए ।