गौरस्थित गौर आँखा अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गत प्रदान हुँदै आएको सेवा अस्थायी रूपमा स्थगित गरिएको छ ।
स्वास्थ्य बीमा बोर्डसँग भएको सम्झौता समयमै नवीकरण हुन नसक्दा सेवा रोक्नुपरेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालद्वारा जारी सूचनाअनुसार स्वास्थ्य बीमा बोर्डसँगको सम्झौता २०८३ वैशाख ३० गतेसम्म नवीकरण नभएकाले हालका लागि बीमा अन्तर्गतका सम्पूर्ण सेवा स्थगित गरिएको हो ।
सेवा स्थगित भएसँगै स्वास्थ्य बीमा सुविधामा निर्भर सेवाग्राहीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। विशेषगरी आर्थिक रूपमा कमजोर तथा स्वास्थ्य बीमामार्फत उपचार गराउँदै आएका बिरामीहरूलाई थप आर्थिक भार परेको छ ।
बीमा सुविधा प्रयोग गर्दै आएका सेवाग्राहीहरूले अब उपचार खर्च आफैं व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ । यसले गर्दा कतिपय बिरामी उपचारमा ढिलाइ हुने चिन्तामा परेका छन् भने केहीले आवश्यक उपचार नै रोक्नुपर्ने अवस्था आएको बताएका छन् ।
अस्पताल प्रशासनले सेवाग्राहीलाई परेको असुविधाप्रति क्षमायाचना गर्दै स्वास्थ्य बीमा बोर्डसँगको सम्झौता छिट्टै नवीकरण गरी सेवा पुनः सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । साथै, यस विषयमा सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको पनि अस्पतालले जनाएको छ ।
स्थानीय सरोकारवालाहरूले स्वास्थ्य बीमा जस्तो संवेदनशील सेवामा भएको ढिलाइलाई गम्भीर रूपमा लिनुपर्ने भन्दै तत्काल समस्या समाधान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । उनीहरूले स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न आवश्यक पहल गर्न आग्रह गरेका छन् ।