वन अतिक्रमण हटाउने विषयमा डिभिजन वन कार्यालय बाराले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सूचनामा आपत्तिजनक टिप्पणी गर्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर चेतावनीसहित छाडेको छ ।
निजगढ नगरपालिका–९ निवासी बद्रीप्रसाद बडालले वन क्षेत्र खाली गराउने सम्बन्धी सूचनामा हिंसात्मक आशयको टिप्पणी गरेपछि डिभिजन वन कार्यालय बाराले इलाका प्रहरी कार्यालय सिमरामा निवेदन दिएको थियो ।
प्रहरीले अनुसन्धानका क्रममा बडाललाई नियन्त्रणमा लिएर सोधपुछ गरेको जनाएको छ । प्रहरीका अनुसार सोधपुछका क्रममा उनले आफ्नो अभिव्यक्तिप्रति खेद व्यक्त गर्दै भविष्यमा यस्ता गतिविधि नदोहोर्याउने प्रतिबद्धता जनाएका छन् । लिखित माफी र प्रतिबद्धतापछि उनलाई चेतावनीसहित रिहा गरिएको प्रहरीले जनाएको छ ।
डिभिजन वन कार्यालय बाराले वन संरक्षण तथा अतिक्रमण नियन्त्रण अभियान कानुनी प्रक्रियाअनुसार अघि बढिरहेको उल्लेख गर्दै सामाजिक सञ्जालमा जिम्मेवार अभिव्यक्ति दिन सबैलाई आग्रह गरेको छ ।