मधेश प्रदेशका १ सय ३६ वटै स्थानीय तहमा कार्यरत जनस्वास्थ्य प्रयोगशालाका प्रयोगशालाकर्मीहरूले तलब तथा सेवा–सुविधा नपाएको भन्दै जनकपुरधामस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाको कार्यालय अगाडि धर्ना तथा प्रदर्शन गरेका छन् ।
प्रयोगशालाकर्मीहरूले सात महिनादेखि तलब नपाएको तथा अन्य सेवा–सुविधा समेत रोकिएको भन्दै बुधबार कार्यालय अगाडि धर्ना र र्याली गरेका हुन् । आर्थिक वर्ष २०८२/०८३ को कात्तिक महिनादेखि हालसम्म तलब भुक्तानी नभएको, चाडपर्व भत्ता समेत नपाएको तथा चालु आर्थिक वर्ष समाप्त हुन लाग्दासमेत कर्मचारीहरूको म्याद नवीकरण प्रक्रिया टुंगो नलागेको उनीहरूको गुनासो छ ।
प्रयोगशालाकर्मी अनिल महतोका अनुसार पटक–पटक सम्बन्धित निकायलाई लिखित तथा मौखिक रूपमा जानकारी गराउँदा पनि समस्या समाधान नभएपछि आन्दोलनमा उत्रिन बाध्य भएको बताए । त्यस्तै, संयुक्त संघर्ष समितिका संयोजक साहिद राइनले लामो समयदेखि पारिश्रमिकविहीन अवस्थामा सेवा दिन बाध्य बनाइनु श्रमिक अधिकारमाथिको गम्भीर अन्याय भएको आरोप लगाए। उनले सम्बन्धित निकायहरूको उदासीनताका कारण आन्दोलन गर्नुपरेको बताए । प्रयोगशालाकर्मीहरूले माग सम्बोधन नभए थप कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
उनीहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेश प्रदेश, श्रम तथा यातायात मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय तथा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको ध्यानाकर्षण गराउँदै बाँकी तलब तत्काल भुक्तानी, सेवा सम्झौता नवीकरण, चाडपर्व, पोशाक, जोखिम तथा महँगी भत्ता उपलब्ध गराउन माग गरेका छन् ।